सुर्खेत — सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको हो ।
उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको छ ।
वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएको छ । प्रतिकेजी ४२ रूपैयाँको दरले बिल काटिएको छ । दुर्गा भवानी नेपाल खाद्य संस्थानको खाद्यान्न ढुवानीकर्ता व्यापारिक फर्म हो ।
वासुदेव शर्माको स्वामित्वको सप्लायर्सले कर्णालीको हिमाली जिल्लामा ढुवानीको जिम्मा लिएको छ। संस्थानको चामल बेच्न लगिएको शंका गरिएकाले ट्रकसहित चामल बरामद गरिएको एसपी भट्टले बताए । प्रहरीले सप्लायर्सको वीरेन्द्रनगरस्थित गोदामसमेत सिल गरिएको उनको भनाइ छ ।
‘सामान्यतया सुर्खेतबाट बाहिर खाद्यान्न ढुवानी हुँदैन, यति ठूलो परिणाममा बाहिर लग्न खोजिनु शंकास्पद छ,’ उनले भने, ‘यो चामल सरकारी हो वा होइन भन्ने अनुसन्धानले खुलाउला ।’ ( कान्तिपुर )