काठमाडौं _भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख सामन्त गोयलसँग भेटको विषयलाई लिएर लेखक खगेन्द्र संग्रौला र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच जुहारी चलेको छ ।
लेखक संग्रौलाले गोयलसँग भट्टराईले भेटेको भन्दै ट्विट गरेका थिए । त्यसको जवाफमा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संग्रौलाजस्ता बौद्धिक व्यक्तिसमेत आफ्नो कान नछामी कागको पछि दौडिएको प्रतिक्रिया दिएका छन् ।
संग्रौलाले भट्टराईतर्फ लक्षित गर्दै ट्विटरमा लेखेका थिए, “डा. बाबुराम भट्टराई रअ प्रमुख सामन्त गोयल्सलाई सुटुक्क भेट्ने, सामन्त गोयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने ! अनि यता बाबुराम आइसोलसनमा, उता सामन्त आइसोलेसनमा । देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो !”
संग्रौलाको सो ट्विटमा प्रतिक्रिया जनाउँदै भट्टराईले लेखेका छन्, “खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्तिसमेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य र न्याय, बुद्धि र विवेकको के अपेक्षा गर्नु ? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश ! बीपी र पीएललाई बाँचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश ! अनि हामी पछि नपरे को त ?”
रअ प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको ओलीको सचिवालयले जानकारी गराएको छ । तर, अरु नेताहरुले भने भेट गरेको अस्वीकार गर्दै आएका छन् । केही भारतीय सञ्चारमाध्यममा भने भट्टराईसँग पनि गोयलको भेट भएको खबर प्रकाशित भएपछि संग्रौलाले ट्विट गरेका थिए ।