युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग लज्जास्पद हार भोगेको छ ।
दुबईमा गएराति भएको खेलमा दिल्ली हैदराबादसँग ८८ रनले पराजित भएको हो । हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्ली १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रनमा समेटियो ।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन बनाए भने अजिन्क्या रहानेले २६ रनको योगदान गरे । टुसार देशपाण्डेले अविजित २० रन, सिम्रन हिटमायरले १६ रन, कप्तान श्रेयस अय्यरले ७ रन बनाए भने शिखर धवन शून्य रनमा आउट भए ।
दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए भने सन्दिप शर्मा र टी नटराजनले २–२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।
दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए ।
पहिलो विकेटको रुपमा आउट भएका वार्नरले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए भने रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए ।
यस्तै मनिस पाण्डेले अविजित ४४ रन र केन विलियम्सनले अविजित ११ रन जोडे । दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १–१ विकेट लिए ।
जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । हैदरावादले दिल्लीलाई लगातार दोस्रो भेटमा हराएको हो । सिजनको पहिलो भेटमा पनि दिल्लीलाई हैदराबादले १५ रनले हराएको थियो ।
हैदराबादसँग पराजित भएको दिल्ली १२ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा छ ।