सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल रुकम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये सुर्खेतका १७ जना रहेका छन् । जसमा तीनजना सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र चिकित्सक एक÷एकजना र अन्य कन्ट्याक्ट ट्रेसिङ रहेका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
त्यस्तै कालिकोटका २७ जना, दैलेखका नौ जना, जुम्लाका पाँचजना, मुगुका दुईजना, रुकुम पश्चिम र सल्यानका एक/एकजना र अन्य प्रदेशका तीन जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ५ हजार ६८० पुगेको छ ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आइतबार प्रदेशमा थप १३२ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार ३७३ पुगेको छ ।
प्रदेशभर हालसम्मा १ हजार ११९ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ ।