फ्रान्सले आगामी बर्षको मध्यसम्म कोरोना भाइरससंग जुध्नुपर्ने: इमानुएल म्याक्रों

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले फ्रान्सले आगामी बर्षको मध्यसम्म कोरोना भाइरससंग जुध्नुपर्ने स्पष्ट पार्नुभएको छ ।

फ्रान्सका बिभिन्न अस्पतालहरुमा संक्रमितहरुको स्थिती बुझन पुग्नुभएका उहाँले कोभिडका कारण देश संकटमा पर्ने बताउनु भएको हो ।

साथै राष्ट्रपति म्याक्रोंले देशमा चाँडै नै पुनः लकडाउन हुने संकेत समेत गर्नुभएको छ ।

हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर दिनानुदिन उच्च गतिमा फैलिरहेको रहेको भन्दै उहाँले नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय भएको जिकिर गर्नुभएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ४० हजार नयाँ संक्रमित थपिनुका साथै एकै दिन २ सय ९८ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति म्याँक्रोले फ्रान्समा संक्रमितको संख्या लाखौं नाघेको भन्दै देश कोभिडका कारण अप्ठेरो स्थितीमा पुगेको जानकारी दिनुभयो ।

युरोपेली राष्ट्रहरुमा कोरोना भाइरस पछिल्लो १० दिनमा दोब्बरले बढेको विवरण सार्वजनिक भइरहेको बेला राष्ट्रपति म्याक्रोंको यो भनाई सार्वजनिक भएको हो ।

यता बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पछिल्लो समय युरोपेली मुलुकहरुमा कोराना भाइरस दु्रत गतिमा फैलिंदै गएको र यसले भयावह स्थिती निम्त्याउने भन्दै युरोपेली राष्ट्रहरुलाई सचेत रहन अपील गरिसकेको छ ।

युरोपमा बिगत १० दिनमा २ लाख ४७ हजार ब्यक्तिको मृत्यु भएको छ भने ७८ लाख संक्रमित थपिएका छन् ।(समाचार एजेन्सी)