दसैंका यात्रु सवार गाडी खस्दा पाँचको मृत्यु, तीन घाइते

उदयपुर — सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् ।

भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

मृत्यु हुने अन्यमा अन्दाजी ३०–३५ वर्षका दुई जना पुरुष र एक महिला छन् । उनीहरू सबैको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

 

प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए ।

‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको अनुमान गरेको प्रहरीले गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको जनाएको छ । कान्तिपूर