कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यृ

 

सुर्खेत –  दश  दिनदेखि ज्वरो आई टाइफाइडको उपचार गराइरहेका सुर्खेतका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्रनगर–९ का  ४२ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको स्थानीय मेडिकल हलमा टाइफाइडको उपचारको लागि सुई लगाइएको र सन्चो नभएपछि प्रदेश अस्पतालमा असोज ३० गते उपचारको लागि लगिएको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनकाअनुसार ती पुरुषमा ज्वरो र खोकीसहितको लक्षण देखिएपछि शुक्रबार विहान विहान १०ः३० बजे प्रदेश अस्पतालाको आकस्मिक कक्षको प्रि–आइसोलेसन युनिटमा भर्ना गरिएको थियो ।

अक्सिजन स्याचुरेशन घटेको र सास फेर्न गाह्रो भएकाले आकस्मिक कक्षमा राखी अक्सिजन दिइएको र मुखबाट पाइप राखी इन्टुबेशन गरी आवश्यक उपचार गरिएपनि उनको आज विहान ७ः२५ बजे मृत्यु भएको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले बताए ।
उपचारमा रहेका उनको आज विहान मुटुको चाल हराएपछि छातीमा थिचेर ब्युँताउने प्रयास गरिएपनि स्वास्थ्यमा सुधार नआएको उनको भनाई छ । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । हाल जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाबाट उनको शव व्यवस्थापन भईरहेको उनले जानकारी दिए ।