वर्षात‍्ले बारीमै कुहियो गहुँबाली

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका किसानका गहुँबाली लगातारको वर्षात्ले बारीमै कुहिन थालेको छ । हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल, अमलसेनी, खोर्रे, मुरलीगाउँका १६२ घरधुरी किसानको गहुँबाली नष्ट भएको सोही वडाका स्थानीय किसान हेमन्तप्रकाश ओलीले जानकारी दिए ।

मुखमा हाल्ने बेलाको गाँस नै खोसिँदा यहाँका किसान पुर्पुरोमा हात लगाउनुपर्ने बाध्यता आइलागेको उनले बताए । उनका अनुसार कोरोना भाइरसको जोखिम भन्दा भोकमारीले मर्ने डर उब्जिएको छ । यसबाट गहुँबालीमा निर्भर यहाँका करिब एक हजार जनसङ्ख्या प्रभावित हुने उनको भनाइ थियो ।

त्यस्तै, अर्का कृषक झकबहादुर खत्रीले गहुँबाली पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि स्याहार्न नसकिएको बताए । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले क्षतिको विवरण संकलन गर्न त्यहाँका किसानलाई सुझाएकी छन् । किसानको वास्तविक समस्यालाई बुझेर सक्दो राहत सहयोग गर्ने उनले जानकारी दिइन्।