
वीरेन्द्रनगर – कर्णाली प्रदेशसभामा चार करोडको क्षति भएको मुचुल्का तयार भएको छ । गत भदौ २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा सबैभन्दा धेरै क्षति प्रदेशसभामा भएको थियो ।
आन्दोलनकारीहरूले सभाका सबै संरचनामा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गर्दा सभाका सबै सामान जलाएर नष्ट भएका छन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आन्दोलनकारीले लगाएको आगोका कारण प्रदेश सभाको मुख्य भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
‘आगजनीबाट चार करोडको क्षति भएको छ, भने महत्वपूर्ण कागजात तथा संरचनाहरू जलेर नष्ट भएका छन्’ उनले भने, ‘भौतिक संरचनाको अवस्था हेर्दा भवनका भित्ताहरू चर्किएका, प्लास्टर उप्किएका र जताततै आगोको धुवाँले कालो बनेका छन् । भने कतिपय संरचना भत्किएका अवस्थामा छन् ।’
प्रदेशसभा भवनमा सभामुख, उपसभामुख, मुख्यमन्त्री, सचिव र विपक्षी दलका नेतासहितका पदाधिकारीहरूको कार्यकक्ष रहेका थिए । सँगै जोडिएको मुख्य सभाहल पनि ध्वस्त भएको छ । दीक्षा समारोह, जुम मिटिङ जस्ता महत्त्वपूर्ण कार्यक्रम आयोजना हुने भवन पनि जलेर खरानी भएको छ । प्रदेशसभा भवनसँगै प्रशासन सचिवालय, लेखा शाखा र जिन्सी शाखाका भवन पनि पूर्ण रूपमा जलेर ध्वस्त भएका छन् ।
तर प्रदेशसभा अन्तर्गत रहेका विभिन्न समितिहरूका हलमध्ये सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिका हल भने आंशिक रुपमा मात्रै क्षति भएको छन् । आगजनीबाट कार्यालयमा रहेका सम्पूर्ण विद्युतीय उपकरण, फर्निचर र महत्वपूर्ण अभिलेख पनि नष्ट भएका छन् ।
सचिव बुढाथोकीका अनुसार ल्यापटप, कम्प्युटर, लाइभ सिस्टम, सीसीटीभी क्यामेरा सिस्टम, प्रोजेक्टर, टेबल, कुर्सी, दराज, ¥याक र फाइल सहितका सबै अभिलेख जलेर सखाप भएका छन् । तयार पारिएको क्षतिको मुचुल्का (मूल्याङ्कन) अनुसार करिब चार करोड रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक आकलन गरिएको उनले बताए । मूल्याङ्कन विवरण प्रहरीको रोहबरमा भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालयमा पठाइएको सचिव बुढाथोकीले जानकारी दिए ।
‘प्रदेशसभाका केही महत्वपूर्ण सामग्री भने जोगिएका छन । आन्दोलनकारीको समूह प्रदेशसभा भवनतिर जानुअघि नै सुरक्षित स्थानमा सारिएका १३ वटा गाडी, एक थान जेनेरेटर, वाटर पम्प र गेट सुरक्षित छन्’ उनले भने, ‘एक थान स्कुटर र केही मोटरसाइकल पनि क्षति हुनबाट जोगिए । तर हाल सभाका पदाधिकारीहरू आ–आफ्नो कार्यकक्षमा बस्न सक्ने अवस्थामा छैनन् ।’
आन्दोलनपछि पदाधिकारीहरू सभातिर आउँदैनन् । कर्मचारीबाट सामान्य दुई–तीन वटा कोठाबाट हाजिरी गर्ने र दैनिक कामकाज सञ्चालन गर्ने प्रयास भइरहेको सचिव बुढाथोकीले बताए । उनका अनुसार कार्यालयका भौतिक संरचनाहरू ध्वस्त भएपनि पदाधिकारीहरूको तलब भत्ता पहिले नै वितरण गरिएको छ ।
दशैंका लागि समेत तलब भत्ता नियमअनुसार नै वितरण भइसकेको उनको भनाइ छ । त्यसका लागि अनलाइन प्रणाली (नयाँ भौचर) प्रयोग गरिएको छ । प्रदेशसभा भवनसँगै एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरी लाखौं रकम लुटपाट गरिएको छ ।