सुर्खेत – विपदका सवालमा कर्णालीका संचारकर्मीहरुसँग छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सुर्खेतको समन्वय तथा प्रतिवद्ध परियोजनाको सहयोगमा विपदका सवालमा संचारकर्मीसँग प्रादेशिक कार्यशाला आयोजना गरिएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा लागु भएको प्रतिवद्ध परियोजनाले विपदका सवालमा काम गर्दै आएको छ । यसैबिच कर्णालीका संचारकर्मीहरुसँग पनि विपदका सवालमा छलफल गर्दै कार्यशाला सम्पन्न भएको परियोजनाका प्रदेश संयोजक उज्वल अधिकारीले बताए । उनका अनुसार यो परिपोजना बागमतीपछि हाल लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका ६ पालिकाका ५१ वटा वडामा लागु भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले कर्णालीमा विपदका घटना बढ्दै गएको उल्लेख गरे । ‘जाजरकोट भुकम्पको बेला भारतले पठाएको राहत सामाग्री काठमाडौ एअरपोर्ट र चीनले पठाएको पोखरामा एअरपोर्टमा झारियो । त्यो सामान जाजरकोट पुग्न ८ दिन बढि लाग्यो’ उनले भने, ‘त्यसैले कर्णालीमा विपदका बेला राहत, उद्दारसँगै ठुला जहाज बस्ने गतिलो एअरपोर्ट चाहिएको छ, यसबारे सरोकारवालाको ध्यान जाओस् ।’
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले विपद जोखिममा राष्ट्रिय स्तर भन्दा कर्णाली माथि रहेको जानकारी दिए । सोही अनुसार मन्त्रालयले पूर्वतयारीका गतिविधि जारी राखेको भन्दै प्रतिबद्ध परियोजनाले स्थानीयलाई थप राहत हुनुका साथै प्रदेश सरकारलाई पनि सहयोग पुगेको उनको भनाइ छ ।
पत्रकार महासंघ कर्णालीका अध्यक्ष विस्नुप्रसाद शर्माले विपद जोखिमका बेला पनि आफ्नो वास्था नगरी रिपोर्टिङ गदै आएका पत्रकारहरुप्रति सम्मान व्यक्र गरे । आगामी दिनमा प्रदेशका १० वटै जिल्लामा रहेका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि पहल भईरहेको उनले बताए ।
पत्रकार महासंघ कर्णालीका महासचिव खगेन्द्र भट्टराई कर्णालीमा विपद जोखिमका घटना बढ्दै गएकाले रिपोर्टिङमा जादाँ संचारकर्मीहरु पहिले आफु सुरक्षित रहनुपर्ने बताए । विपद जोखिमका घटनामा रिपोर्टिङ गर्दा आफुले पनि पूर्वतयारी गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिवद्ध परियोजनाका सेभ द चिल्ड्रेन अन्तर्गत सिनियर कोडिनेटर उषा जोशीले परियोजना अनतर्गत प्रदेश तथा स्थानीय सरकारहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास कार्य जारी रहेको बताइन् । उनका अनुसार यो परियोजना मुख्यतया केही समय अगाडि भुकम्पले प्रभाव पारेका, भविश्यमा भुकम्पले धेरै प्रभाव पार्नसक्ने अनुमान गरिएका र पहिरोको जोखिम अत्यधिक हुनसक्ने क्षेत्रहरुलाई लक्षित गरी कार्यान्वयन भइरहेको छ ।
‘परियोजनाले विपद्को जोखिमा रहेका समुदायहरु, स्थानीय तथा प्रदेश सरकारहरुको विपद् जोखिम न्युनीकरण, पूर्वतयारी तथा पूर्वकार्यको लागि नेतृत्व विकास तथा सामूहिक अपनत्व सुदृढ गर्न सहायता पुर्याउने लक्ष्य लिएको छ’ उनले भनिन्, ‘लैंगिक समानता, विविधता, सामाजिक समावेशीकरण तथा वातावरणीय पक्षहरूलाई समेट्दै पहिरो विपद् पूर्वतयारी तथा पूर्वकार्य कार्यढाँचा विकास गरि प्रणालीगत सुधारमा जोड दिदै कार्यक्रम कार्यान्वयन भइरहेका छन् ।’
तथ्यांक अनुसार पछिल्लो सयम कर्णाली प्रदेशमा विपदजन्य घटना बढ्दै गएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दुई महिनाको अवधिमा मात्रै कर्णालीमा तीन सयभन्दा बढी विपदजन्य घटना भएको उल्लेख छ ।
जसमा गएको जेठ १८ गतेदेखि भदौ ८ गतेसम्म प्रदेशभर भएका बाढी, पहिरो, चट्याङल गायतका ३०८ वटा घटनामा परी ७ जनाको ज्यान गएको छ, भने ३९ जना घाइते भएका छन् । यी घटनामा ३४२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । भने ३११ पशुचौपाय मरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा चट्याङबाट मात्रै २६८ पशुचौपाय मरेका हुन् ।