सुर्खेत – वर्तमान समयमा बजारमा बढ्दो प्रतिस्पर्धा मूल्य अनिश्चितता तथा ग्राहकको विश्वास जित्ने चुनौतीका बीच नेपाल बजार बिक्री प्रतिनिधिहरूबीच आपसी समन्वय र समझदारी अझै सुदृढ गर्नुपर्ने आवश्यकता महसुस हुँदै आएको छ ।
यस्तै सन्दर्भमा बजार बिक्री प्रतिनिधिहरूबीच आपसी अनुभव आदानप्रदान र एकता सुदृढ गर्ने उद्देश्यले नेपाल बजार बिक्री प्रतिनिधि संघ सुर्खेत इकाईको आयोजनामा विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।
शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न उक्त भेटघाट तथा खिर खाने कार्यक्रम संघको सुर्खेत इकाईको कमिटीद्वारा आयोजित गरिएको हो । कार्यक्रममा सभाध्यक्ष विवेक खड्काको अध्यक्षता रहेको थियो भने केन्द्रीय उपाध्यक्ष बाबुराम भुसाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै केन्द्रीय सदस्य प्रदीप रिमाल, राजन कुमार सुवेदी, तथा सुर्खेत इकाईका सचिव जगत बहादुर बिष्ट लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाल बजार बिक्री प्रतिनिधि संघ सुर्खेत इकाईका अध्यक्ष विवेक खड्काले हालको बजार अवस्था त्यसमा देखिएका समस्या तथा चुनौतीको बारेमा स्पष्ट धारणा प्रस्तुत गरे । उनले वर्तमान बजार व्यवस्थामा नीतिगत स्पष्टता उपभोक्तासँगको सम्बन्ध र विक्रेताको अधिकार सुनिश्चित गर्न संघ सक्रिय रहने प्रतिबद्धता पनि जनाए । कार्यक्रमले आपसी मेलमिलाप सहकार्य र मनोबल अभिवृद्धिमा टेवा पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।