जुम्ला – कवि भुपी शेरचनले भनेझैं देश निर्माणका लागि थुप्रै सपुतहरूको बलिदान आवश्यक पर्छ । २०५१ साल फागुन १ गते नेकपा ९माओवादी० ले सुरु गरेको ‘जनयुद्ध’मा हजारौं नेपालीले सहादत प्राप्त गरे। यसै क्रममा जुम्लाले पनि अग्रपंक्तिमा उभिएर करिब दुई सय सहिद जन्मायो ।
यी सहिदहरूको बलिदानको सम्मान र सम्झनालाई स्थायी बनाउन प्रतिनिधिसभा सदस्य छिरिङ लामाले जुम्लाको गुठीचौर गाउँपालिका–५ मा ‘नमुना सहिद पार्क’ निर्माण गर्ने विशेष पहल गरेकी छन् ।
सांसदमा निर्वाचित भएलगत्तै सहिद परिवारहरूसँग भेटघाट गर्दा उनीहरूका भावना सुनेपछि सांसद लामाले आफूलाई प्रत्यक्ष रूपमा सहिदहरूको सपनासँग जोडिएको महसुस गरिन्। सहिदहरूले देखेको समृद्ध, विकसित र न्यायिक राष्ट्र निर्माणको सपना साकार पार्न उनी थप प्रतिबद्ध भइन्। त्यसै क्रममा सहिदहरूको सम्मानमा केही ठोस काम गर्ने योजना उनले बनाइन् ।
सुरुमा जिल्ला इन्चार्ज नरेश भण्डारीलगायतका नेताहरूसँगको परामर्शमा उनले चन्दननाथ नगरपालिकामा एकीकृत सहिद पार्क निर्माणका लागि १ करोड रुपैयाँ बजेटको व्यवस्था गरेकी थिइन् । तर, आवश्यक जमिन प्राप्ति लगायतका प्राविधिक समस्याका कारण उक्त योजना साकार हुन सकेन ।
पहिलो प्रयास असफल भए पनि सहिदहरूका लागि केही गर्ने सपनालाई उनले त्यागेनन्। निडर, हक्की र क्रियाशील स्वभावकी सांसद लामा आफ्नो लक्ष्यबाट विचलित भइनन्। निरन्तरको प्रयासपछि अन्ततः गुठीचौर गाउँपालिका–५ मा नमुना सहिद पार्क निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गराउन उनी सफल भएकी हुन् ।
सांसद लामाका अनुसार, यो पार्क द्वन्द्वकालमा ज्यान गुमाएका दुई सयभन्दा बढी सहिदहरूको सम्झनालाई जीवन्त राख्न निर्माण गर्न लागिएको हो ।
सहिदहरूको बलिदानलाई सम्मान गर्ने, उनीहरूको सपना साकार पार्ने र सामाजिक न्याय, शान्ति तथा परिवर्तनका लागि गरिएको संघर्षको यात्रालाई नयाँ पुस्ताले स्मरण गरोस् भन्ने उद्देश्यले पार्कलाई ’नमुना सहिद पार्क’का रूपमा विकास गरिनेछ ।
‘यो केवल स्मृति बनाउने परियोजना होइन, सहिदहरूको बलिदानलाई सम्मान गर्ने, नयाँ पुस्तालाई प्रेरणा दिने परियोजना हो,’ सांसद लामाले बताइन् ।
नेता भण्डारीले सांसद छिरिङले सम्झिने गरी केही काम गर्ने चाहना छ भनेर पटक पटक भन्दै आएको र यस पटक जिल्ला पार्टीका नेताहरुसँगको परामर्शमा गुठीचौरमा उनको पहलमा नमुना शहिद पार्कका लागि ३ करोड बिनियोजन भएको बताए ।
जमिन लगायत न्युनतम पूर्वाधारको व्यवस्था भइसकेकाले यो आयोजना कार्यान्वयन भई जिल्लाकै नमुना शहिद पार्क बन्ने उनले विश्वास व्यक्त गरे । – ratopati