सुर्खेत – ‘जाउँ है पोखरा’ आन्तरिक पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत वीरेन्द्रनगरमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सुुर्खेत र पोखराका होटल व्यवसायी तथा अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।
‘जाउँ है पोखरा’ आन्तरिक पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत पोखराको टोली बुटवल–नेपालगन्ज–सुर्खेत–दाङको यात्रामा निस्किएको छ । छलफलमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पुप्पलाल र मध्यपहाडी लोकमार्ग बनेको खण्डमा सुर्खेत–पोखराको दुरी छोटो हुने बताए । अब विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने गरी पर्यटकीय क्षेत्रको विकास र संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
होटल संघ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको प्रवद्र्धनमा यो अभियान जारी छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ‘जाउ है पोखरा’ अभियान २२ वर्ष पहिलेदेखि सुरु भएको जानकारी दिए ।
उनका अनु्सार हाल पोखराका १ हजार २०० होटलमा ४० हजार बेड रहेको र करिब २० हजार जनाले रोजगारी पाएका छन् । आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, राष्ट्रिय तथा अन्तराष्ट्रिय खाना महोत्सव र खेलकूदका कार्यक्रम समेत गर्दै आएको छ । साथै भारतिय पर्यटक प्रबद्र्धनका लागि भारतीय शहरहरुमा ‘चलिए पोखरा’ अभियान समेत संचालन गर्दै आएका उनले जानकारी दिए ।
कर्णाली प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पदम बहादुर शाहीले कर्णालीमा पर्यटकीय गतिविधिका पूर्वाधार विकासमा लगानी कम रहेको बताए । सुर्खेत–पोखरा पर्यटकीय सम्बन्धलाई दिगो बनाउन तथा आन्तरिक पर्यटक बढाउन सडक कनेक्टिभिटिमा जोड दिनुपर्ने उनको भनाइ छ ।
पश्चिम नेपाल पुुगेको होटल संघ पोखराकी सचिव पार्वता पाण्डेले पर्यटनका लागि विशेष गरी (कनेक्टिभिटि) महत्वपूर्ण हुने कुरालाई ख्याल गर्दै पश्चिम नेपालका विभिन्न शहरबाट पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा संचालनका लागि सम्बन्धित सबैको पहन र सक्रियताका लागि समेत हार्दिक अपिल गरिएको बताइन । पोखरा र भैरहवामा बनेका अन्तर्राष्ट्रिय विमानस्थलको नियमित संचालनका लागि समेत सबै मिलेर सरकारलाई दवाव दिन उनको भनुरोध ।