कर्णालीका ८ महिला उद्यमी १ लाख नगद सहित पुुरस्कृत

सुर्खेत – कर्णाली प्रदेशका ८ जना महिला उद्यमी सम्मान पत्र र नगद १ लाख रकम सहित पुुरस्कृत भएका छन् । कर्णाली सरकारले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उहाँहरुलाई सम्मानित गरेको हो ।

स्थानीय स्रोत, साधनको उपयोग गरी उद्योग स्थापना गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आएका ८ जना महिला उद्यमीलाई प्रतिव्यक्ति १ लाख नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ । आर्थिक विकास र समृद्धिमा योगदान पुर्याएको भन्दै प्रदेश सरकारले पुुरस्कृत गरेको हो ।

सम्मानित हुने उद्यमी महिलाहरूमा जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगकी संचालक नारायणी चौलागाईं, डोल्पाको जगदुल्ला गाउँपालिका–३ स्थित करुणा घरेलु तथा अल्लो उद्योगकी संचालक ललिता थापा र हुम्लाको सिमकोट गाउँपालिका–५ स्थित लक्ष्मी सिलाई कटाई उद्योगकी संचालक लछु भण्डारी रहनुु भएको छ ।

त्यस्तै सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१० स्थित दिदीबहिनी बाख्रा फार्मकी संचालक गीता कुमारी पुनमगर, कालिकोटको रास्कोट नगरपालिका–५ स्थित शाही पोल्ट्री फार्मकी संचालक सीता शाही, दैलेखको नारायण नगरपालिका–६ स्थित विन्दु सिलाई कटाई उद्यमकी संचालक विन्दुकुमारी उपाध्याय रहेका छन् । यस्तै मुगुको छायाँनाथ रारा नगरपालिका–२ स्थित सविना टेलर्सकी संचालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रा.लि. संचालक सुजाता पाण्डे सम्मानित भएका हुन् ।

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले उहाँहरुलाई सम्मान गर्दै दुर्गम क्षेत्रमा सबै महिलाहरूले अझै पनि अधिकारका लागि संघर्ष गर्नुपर्ने बाध्यता रहेको बताउनुुभयो ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश सरकारको लक्ष्य १ जिल्ला १ महिला उद्यमीलाई सम्मान गर्ने योजना रहेपनी जाजारकोट र रुकुमपश्चिमका उद्यमीहरुको तोकिएको प्रक्रिया पूरा नभएकाले हाल ८ जिल्लाका उद्यमीलाई मात्रै पुरस्कृत गरीएको जानकारी दिनुुभयो । बाँकी २ जिल्लाका उद्यमीलाई पनि छिट्टै आवश्यक प्रक्रिया पूरागरी सम्मान गरिने उहाँ बताउनुहुन्छ ।