सुर्खेत – हेल्प नेपाल संस्थाले बराहताल गाउँपालिकाको वडा नम्बर दुई गिरीघाटमा अवस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
विद्यालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा गायक यस कुमारले २०७१ सालका बाढीपीडित बालबालिकालाई उक्त सामाग्री हस्तान्तरण गर्न आएको बताए ।
‘हेल्प नेपालको सहयोगमा हामीले यहाँका बालबालिकालाई झोला देखि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेका छौं । हामीले ७० जना विद्यार्थीलाई यो सामाग्री हस्तान्तरण गरेका हौं ।’ उनले भने, ‘यहाँ आउँदा शैक्षिक सामाग्रीका अलावा भवनको पनि आवश्यकता रहेछ ।’
बराहताल गाउँपालिकाका अध्यक्ष भीम बहादुर भण्डारीले विद्यार्थीलाई सहयोग गरेकोमा संस्था र कलाकार यश कुमारको टिमलाई धन्यवाद दिए ।
‘यहाँको अवस्था अत्यन्तै दयनीय नै छ । यहाँहरुले देखिसक्नुभयो ।’ अध्यक्ष भण्डारीले भने, ‘यहाँहरुको यो सहयोगले बालबालिकालाई केहि राहत पक्कै भएको छ ।’
उनले बाढी पीडित बस्तीका लागि पालिकाले एक करोड रकम विनियोजन गरेको बताउँदै रकमान्तर गरेर भएपनि विद्यालय भवन निर्माण गर्नेप्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा हेल्पका बोर्ड सदस्य छिरिङ्ग लामा, हेल्पका भोलेन्टियर नितिन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।