सुर्खेतमा ५० शैयाको सरुवा रोग अस्पताल शिलान्यास

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रादेशिक सरुवारोग अस्पताल निर्माण हुने भएको छ । भेरीगंगा नगरपालिका १२ स्थित निर्माण हुन लागेको ५० शैयाको कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको भवन शिलान्यास गरिएको हो ।

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस पाटी उपसभापति पूर्णबहादुर खड्काले बुधबार एक औपचारिक कार्यक्रमकाबिच अस्पतालको भवन शिलान्यास गरेका हुन् । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतका अनुसार एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो ।

भवन निर्माणका लागि संघीय अर्थ मन्त्रालयले ५० करोड श्रोत सुनिश्चितता गरेपछि बहुबर्षिय ठेक्का सहमती भएको छ । शहरी विकास तथा भवन निर्माण विभागबाट ४१ करोड १५ लाख ४६ हजारमा ठेक्का आह्वान भएकोमा ३१ करोड २१ लाख ४३ हजारमा भ्याट रकम सहित ठेक्का सम्झौता भएको छ ।

२०८१÷०४÷१३ गते निर्माण व्यवसायीः श्री चक्रेश्वरी÷कुशेश्वर सि.एल.जे.भि काठमाण्डौले सम्झौता गरेको हो । निर्माण व्यवसायी जयराम घलेले ठेक्का लिएको यो अस्पताल भवन २०८३÷०४÷१२ गतेभित्र निर्माण भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । ठेक्का सम्झौतापछि २०८१÷०७÷०६ मा एक करोड ३५ लाख (५%) मोविलाईजेशन पेश्की रकम भुक्तानी गरिएको छ ।

प्रादेशिक सरुवारोग अस्पताल भवनको लम्बाई ५२.६ मि चौडाई २२.५ मि को हुनेछ । भने भवन ती तला को बन्ने छ । पहिलो तलामा विरामी चेकजाँच हुने छ । भने माथिल्लो २ तलामा ५० वटा बेड रहने छ । यस बाहेक पार्कीङ्ग सहितको खाजा घर लगाएतका संरचना बन्ने छन ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस पाटी उपसभापति पूर्णबहादुर खड्काले कर्णालीका १० जिल्लाका नागरिकले अब सहज रुपमा उपचार पाउने दावी गरे । अस्पताल निर्माणपछि सरुवारोग उपचारका लागि बाह्य प्रदेश जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

सस्तो र सहज रुपमा कर्णालीका नागरिकले कर्णालीमै उपचार पाउने उनले बताए । ‘प्राविधिक कारणले काम सुरु गर्न ढिलाइ भएको थियो । अब समयमै काम सक्नेगरी निर्माण सुरु भएको छ’ उनले भने, ‘दुई वर्षमा सम्पन्न हुनुपर्ने मेहलकुना अस्पताल भवन पाँच वर्षसम्म पनि बनेन । त्यसैले यो सरुवा रोग अस्पताल निर्माणमा पनि ढिलाई गर्न हुदैन ।’

अस्पताल निर्माणका लागि बजेटको कमि हुन नदिने र भुक्तानीमा ढिलाई हुन नदिने भन्दै ठेकेदारलाई रप्तारमा काम गर्न उनले आश्वासनसहित आग्रह गरेका छन् ।