सुर्खेतका होमबहादुरको काठमाडौंमा हत्या, तीनजना पक्राउ

सुर्खेत – सुर्खेतको लेकबेँसी–२ स्थायी घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा बस्दै अएका ४३ वार्षीय होमबहादुर फौजामगरलाई मंगलबार कुटपिट गरेर हत्या गरिएको छ । हत्या आरोपमा तीन जना पक्राउ समेत परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, मंगलबार अपराह्न ३स्२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए ।

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो ।

त्यसक्रममा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी अधिकारीले बताए । प्रहरीले हत्याको कारण खुलाइसकेको छैन ।