बराहताल गाउँपालिकाको प्राथमिकतामा किसान

सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले व्यवसायिक किसानहरु पालिकाको प्राथमिकतामा रहेको बताएका छन् ।

मंगलबार जिआईजेटको सहयोगमा सञ्चालित ग्रेप परियोजना अन्तर्गत कर्णाली प्रदेशमा वातावरण मैत्री कृषि उद्यमशिल विकासको अवस्था चुनौती र सम्भावना सम्बन्धि संवाद कार्यक्रममा अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् ।

पालिकाका किसानहरु गुजरा चलाउने नभई व्यवसायिक कृषितर्फ उन्मुख भएमात्रै आत्मनिर्भर हुन सकिने उनले बताए । पालिकाका १० वटै वडामा बाँझो रहेको जमिनलाई सदुपयोग गर्नमा आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले बास्तविक किसान बन्छु भनेर आउनेलाई पालिकाले हरदम सहयोग गर्न तयार रहेको बताए । जसका लागि अध्यक्षसँग कृषि आयआर्जनतर्फ विशेष कार्यक्रमसमेत अगाडि सारेको उनले बताए ।

कृषि तथा व्यवसायिक पशु पालनका लागि बराहताल ठुलो सम्भावना बोकेको क्षेत्र रहेको उल्लेख गर्दै सकारात्मक भाव राखेर कृषि कर्ममा लाग्न चाहने जो कोही किसानका उत्पादनलाई सदैव प्रोत्साहनमा पालिका लागि परेको उनले बताए । कार्यक्रममा उपस्थित कृषकले राखेको प्रश्नको जवाफ दिदैं अध्यक्ष भण्डारीले लागत अनुसारको उत्पादनमा ध्यान दिए बजारीकरणको समस्या हुन नदिने बताए ।

निकट भविष्यमा बराहताल गाउँपालिकामा उत्पादन हुने कृषि उपजको बजारीकरणका लागि कृषि हाट बजार सञ्चालन गर्ने तयारी रहेको भण्डारीले बताए । कृषकले पालिकासँग समन्य र सहकार्य नगर्दा सरकारी अनुदान प्रदानमा समस्या रहेको उनले बताए । पालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले जनताका आवश्यकता भन्दा पनि दलिय प्रणालीको बढी अभ्यास गर्दा आफूले सोचे जस्तो काम गर्न नसकेको भण्डारीले दाबी गरे ।

यस्तै, संवाद कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले नीतिगत तथा बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न नसकिएको भएपनि सुधारका प्रयास भने भएको बताए । राज्यले कृषि प्रधान देशका रुपमा सैद्धान्तिक परिभाषित गरेपनि नीति, कार्यक्रम तथा बजेटमा भने उपेक्षा गरिदा कृषि क्षेत्रको प्रवद्र्धन हुन नसकेको उनले बताए ।

सीमित स्रोत र साधनका बिच पालिकाको समर्ग कृषि क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धनका क्षेत्रमा तथ्यांकमा आधारित रहेर आगामी नीति तथा योजनामा निर्माण गर्ने गरी पालिका अगाडि बढेको उनले बताए । संवाद कार्यक्रममा व्यवसायिक कृषिमा संलग्न कृषक, सहकारी संस्था, तरकारी तथा फलफूल व्यवसायीहरुको सहभागिता रहेको थियो ।