ललितपुर, झापा र बर्दियामा गरी ४ कोरोना संक्रमितको मृत्यु

काठमाडौं – नेपालमा थप ४ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । ललितपुरमा दुई जना तथा झापा र बर्दियामा एक एक जना संक्रमितको मृत्यु भएको हो ।

जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको गएराति सवा दुई बजे मृत्यु भएको हो । गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो ।

यस्तै मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको हिजो साँझ ५ बजे मृत्यु भएको थियो । उनी गत भदौं ६ गते अस्पताल भर्ना भएका थिए ।

उता, मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत एक जना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

झापा भद्रपुर–१० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बिहान करिब ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, बर्दियाका एक कोरोना संक्रमितको कोहलपुरमा उपचारका क्रममा हिजो राती मृत्यु भएको छ।

बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको हो ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ४ सय ५३ पुगेको छ । (ईमेजखबर)