पक्कि पुल नबन्दा नागरिकलाई सास्ती

सुर्खेत – ठेकेदारले भुक्तानी नपाएको भन्दै जिल्लाको रामघाट र दशरथपुर जोड्ने पक्की पुल निर्माणको काम रोकिएको छ । भेरीगंगा नगरपालिका–११ रामघाट र लेकवेशी नगरपालिका–४ दशरथपुर जोड्ने भेरी नदिमा निर्माणाधिन पक्की पुलको भुक्तानी दिने रकम नभएपछि निर्माण कार्यपनि ठप्प पारिएको हो ।

निर्माणाधिन पुल समयमा सम्पन्न नहुँदा पुर्वी सुर्खेतका नागरिकले वर्षौदेखि सास्ती भोग्नु परेको छ । लेकवेशी नगरपालिका र भेरीगंगा नगरपालिका जोड्ने दशरथपुर रामघाट झोलुङ्गे पुल समेत जिर्ण बन्दै गएको छ । पक्की पुल नबन्दा कठिनपूर्ण यात्रा गर्न बाध्य बनेको लेकवेशीका स्थानीय बताउँछन् ।

हाल झोलुङ्गे पुलको तार चुडिएको छ । भने पुलमा आउजाउ गर्न समेत समस्या हुनेगरेको छ । बिरामीलाई स्टेचरमा राखेर ओहोरदोहोर गर्न समेत सकस छ । दैनिक सयौको संख्यामा स्थानीय नागरिक तथा मोटरसाइकलहरू ओहोर–दोहोर गर्ने पुल जिर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल बताउँछन् ।

उहाँका अनुसार हाल २३ किलोमिटर लामो दुरीमा रहेको जहरेपुलबाट लेकवेशीका नागरिकले सामाग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । २०६० सालमा ससत्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षको तर्फबाट ढालीएको पुल २०६४ सालमा पुनः निर्माण गरीएको थियो । अहिले उक्त झोलुङ्गे पुल पनि जीर्ण बनेको हो ।

यता सडक डिभिजन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार भेरी नदिमा बन्ने उक्त एक सय ५४ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणको काम रोकिएको छ । सडक डिभिजन कार्यालयले २०७९ माघ २२ गते ३२ करोड ६३ लाख १५ हजारमा अनक कन्ट्रक्सन कम्पनी काठमाडौंसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०८३ असार १४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलका अनुसार दुई वटा फाउन्डेसन निर्माण सकिएको छ । तर कम्पनीले काम गरेकै रकम भुक्तानी नपाउँदा करिब दुई महिनादेखि काम ठप्प छ ।

निर्माण कम्पनीले सडक डिभिजन कार्यालय सुर्खेतमा ११ करोडकोे बिल पेस गरेको छ । कम्पनीले हालसम्म तीन करोड ९८ लाख मात्र भुक्तानी पाएको छ । बाँकी भुक्तानी नपाएपछि पुल निर्माणको काम रोकिएको जनाइएको छ । सरकारले न्यून बजेट विनियोजन गरेका कारण रकम भुक्तानीमा समस्या भएको सूचना अधिकारी पौडेल बताउनुहुनछ ।

गत आर्थिक वर्ष पुल निर्माणका लागि एक करोड ४१ लाख बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा एक करोड २० लाख मात्र बजेट विनियोजन गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । प्रर्याप्त बजेट नहुँदा भुक्तानी दिन कठिनाइ भएपछि अर्थ मन्त्रालयमा बजेट माग गरिएको कार्यालयले जनाएको छ ।

पुल निर्माणको अझै ६६ प्रतिशत काम बाँकी छ । काम गरेअनुसारकै भुक्तानी दिने बजेट नहुँदा अन्य काम अघि बढाउन समस्या भएको हो । अझै फाउन्डेसन निर्माण, सवस्ट्रक्चर तथा सुपर स्ट्रक्चरको काम बाँकी छ । भने निर्माण कम्पनीले भुक्तानीका लागि ताकेता गरिरहेको छ ।