सञ्चालनमा आयो हटियालाईनबाट सरेको नमुना हङ्कङ्ग बजार

सुर्खेत – २० वर्षदेखि वीरेन्द्रनगर-६ स्थित हटियालाईनमा रहेको नमुना हङ्कङ्ग बजार थप व्यवस्थापन र छुट सुविधासहित सञ्चालनमा आएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी जग्गामा बनेका संरचना हटाई पार्किङ्ग लगायतका संरचना निर्माण गर्ने भएपछि खालि गरिएको बजार पुनः सञ्चालनमा आएको हो ।

आइतबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वीरेन्द्रनगर-१०, स्थित बौद्धिक टोल (सिटि बसपार्क अगाडि) स्थापना गरिएको बजारको उद्घाटन सोमबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालद्वारा हुने बजार व्यवस्थापन समितिका अध्यक्ष गणेश विसीले जानकारी दिए ।

२०६० सालबाट रेडिमेड फेन्सी तथा जुत्ता चप्पल सर्वसुलभ मूल्यमा विक्रिवितरण गर्दै आएको हङ्कङ्ग बजारको लागत एक करोड ५० लाख रहेको छ भने, सात कठ्ठा जग्गा भाडा लिएर ३२ वटा सटरहरु निर्माण गरिएको अध्यक्ष विसीले बताए ।

वीरेन्द्रनगरलाई सफा र व्यवस्थित सहर बनाउन नगरपालिकाले थालेको प्रयासलाई सहयोग गर्दै तीन महिना लगाएर बजार स्थापना गरिएको उनले बताए । उक्त बजारबाट ग्राहकलाई थप छुटसहित सेवा प्रदान गरिने बताउँदै ८० जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको अध्यक्ष विसीले बताए ।