सत्तारूढ र प्रमुख प्रतिपक्षी छुट्टाछुट्टै छलफलमा, संसद्‍ बस्‍न ढिलाइ

काठमाडौं – सरकार पेलेर अघि बढ्न खोजेपछि आक्रोशित बनेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अन्य विपक्षी दलहरूसँगको छलफलमा जुटेको छ। बिहान संसदीय दलको बैठक बसेर सभामुख देवराज घिमिरेको भूमिकामाथि नै प्रश्न उठाएको कांग्रेसले अहिले संसद् भवन परिसरमै अन्य विपक्षी दलहरूसँग छलफल गरिरहेको छ।

कांग्रेसले समय मागकै कारण बिहान ११ बजेका लागि बोलाइएको संसद् अहिलेसम्म सुरु हुन सकेको छैन। कांग्रेसले समय मागेपछि सभामुखले पनि दलका प्रमुख सचेतक र सचेकहरूसँगको छलफलमा रहेका उनको सचिवालयले जनाएको छ।

उता, सिंहदरबारमा सत्तारूढ दलका शीर्ष नेताहरूले संसद्को गतिरोध कसरी खुलाउने भन्नेबारे छलफल गरेका छन्। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको हो।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसदीय छानबिन समिति बनाउने अडान नछाडेका बेला सत्तारूढ पेलेर अघि बढ्न खोजेपछि बिहीबार सांसदहरूबीच धकेलाधकेलको स्थिति सृजना भएको थियो।