पाटनमा जडिबुटि संकलन गर्न गएका जुम्लाका ७ जना सम्पर्कविहीन

जुम्ला – पाटनमा जडिबुटि संकलन गर्न गएका जुम्लामा ७ जना सम्पर्कविहीन भएका छन् । जुम्लाको तातोपानी गाउँपालिका – ४ गिडिदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडिबुटी संकलक पुन सम्पर्कविहीन भएका हुन् । सोही गाउँपालिका – ७ बाँरागाउँ र मुछालदेउ गाउँका क्षेत्रको पाटनमा नागरिक सम्र्पकविहीन भएका हुन् ।

मुछालदेउ गाउँका अत रावतसहित ७ जना जडिबुटि संकलक पाटनमा सम्पर्कविहीन भएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए ।

उनका अनुसार तीन दिन अघि उनीहरुसँग सम्र्पक थिए । ७ जना मध्येका अत रावतसँग फोन सम्र्पक हुदा बजेडी पाटनको ओडारमा सुरक्षित बसेका छौँ भनेका थिए । मौसम खुलेपछि घर फर्किने खबर थियो । तर आजभोलि उनीहरु फेरी सम्र्पकमा छैनन् ।

उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा पत्राचार गरेका छौँ वडाध्यक्ष रोकायाले भने प्रशासनले पनि गृह मन्त्रालयमा पत्राचार गरेको छ ।

पाटनमा सम्पर्कविहीन हुनेमा मुछालदेउ गाउँका अत रावत, संसार थापा र दिपा रावत रहेका छन् । यस्तै बाँरागाउँका हरिशोभा रावत, शसिला रावत, गोरी रावत, र जगमती रोकाया सम्पर्कविहीन भएका छन् ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार हिमपातका कारण पाटनमा सम्पर्कविहीन भएका नागरिकको उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौँ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले हेलिकप्टरको खर्च व्यहोर्ने भएपछि उद्धार हुने जानकारी प्राप्त भएको छ ।