कर्णाली प्रदेश फुटबलको उपाधि जुम्लालाई, हुम्ला उप-विजेता

सुर्खेत – कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा हुम्लालाई शुन्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै जुम्लाको टिम विजयी भएको हो ।

जुम्लाका खेलाडी रुवीन भण्डारीको ह्याट्रिकमा ३ गोल र अर्का खेलाडी महेन्द्र शाहीले पेनाल्टी मार्फत १ गोल गर्दै जुम्लालाई जिताउन मद्दत गरे । हुम्लाले खेलको अवधिभर गोल फर्काउन सकेन ।

आयोजक जुम्ला फुटवल संघका महासचिव दिपेन्द्र बिक्रम हमालका अनुसार विजेता जुम्लाको फुटबल टिमका खेलाडीलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ । यस्तै उपविजेता हुम्ला टिमका खेलाडीहरुलाई पनि मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

आगामी मंसिर महिनाका कर्णाली प्रदेशको सुर्खेतमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी प्रदेश स्तरीय फुटबल आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी खेलाडीहरुबाट छनोटका आधारमा प्रदेश स्तरीय फुटबल टिम बनाइने छ । छनोटमा परेका खेलाडीहरु १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षणमा रहनेछन् ।

जुम्लामा सञ्चालित प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लामध्ये ६ जिल्लाले सहभागी जनाएका थिए । फागुन १४ गते उद्घाटन भएको प्रतियोगिताका खेलहरु मौषम प्रतिकुलका कारण १५ गतेबाट मात्रै संचालन भएका थिए ।

नकाउट चरणमा सुरु भएको प्रतियोगितामा सिधै क्वाटर फाइनलबाट खेल सुरु गरिएका थिए । क्वाटरफाइनलको पहिलो खेलमा १÷४ गोलको फराकिलो अन्तरमा मुगुलाई हराउँदै सुर्खेत बिजयी भएको थियो । त्यस्तै दोस्रो खेलमा जाजरकोटलाई २ गोलले हराउँदै हुम्ला विजयी भएको थियो । क्वाटरफाइनलमा विजयी सुर्खेत र हुम्ला सेमिफाइनलमा सुर्खेत–जुम्ला र हुम्ला–कालिकोटबिच प्रतिस्पर्धा भएको थियो ।

सेमिफाइनलमा सुर्खेतलाई पेनाल्टी सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै जुम्लाले फाईनल यात्रा पक्का गरेको थियो । भने कालिकोटलाई १ का विरुद्ध २ गोलले हराउँदै हुम्ला फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा जुम्ला, सुर्खेत, कालिकोट, हुम्ला, मुगु र जाजरकोट जिल्ला सहभागि थिए ।