सिमकोटमा बढ्दै चोरीका घटना

हुम्ला – पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोट बजारमा चोरीका घटनामा वृद्धि भएको पाइएको छ । दिउँसो र राति घरमा कोही नभएको समयमा चोरी हुने क्रम बढेको हो ।

सिमकोट बजारका लोक भण्डारीले राति आफ्नो घरबाट तीन वटा खरायो, एउटा कुखुरा र तीन वटा सुकाएर राखिएको ज्याकेट चोरी भएको बताउनुभयो ।

उहाँले सामान चोर्न आउने मानिसले आफू सुतेको कोठाको बाहिर पट्टी चुकुल बन्द गरेर ती सामान चोरी गरेको जानकारी दिनुभयो ।

यसैगरी सिमकोट बजारका बास्कला फडेराले दिउँसो धोएर सुकाएको नौ वटा कपडा चोरी भएको बताउनुभयो । उहाँले आफ्नो मात्र नभएर छिमेकीका काँसको थाल, जुत्ता समेत चोरी हुने गरेको जानकारी दिनुभयो ।

चोरी गर्न आउने व्यक्तिले घरमा बाहिर जे सामान भेट्यो त्यो चोरी गर्ने गरेको पाइएको छ । सिमकोट बजारमा चोरीका घटना बढी रहेको उजुरी आउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक हप्तामा सात वटा उजुरी आएको थियो । त्यसमध्ये चार जना चोरी गर्ने व्यक्ति पत्ता लगाएर चोरी भएका सामानसम्बन्धी व्यक्तिलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । त्यस्तै तीन जनाको भने खोजी भइरहेको प्रहरीको भनाइ छ । चोरीमा संलग्न नाबालक भएका कारण प्रहरीले चेतावनी दिएर छाडेको छ ।