हुम्लामा हिमपात हुँदा किसानहरु खुसी

हुम्ला –  सोमबार रातीबाट जिल्लामा हिमपात सुरु भएपछि किसानहरुलाई राहत पुग्ने भएको छ । कात्तिक महिनामा छरेको जेठासी बाली ( जौ, गहुँ र उवा ) उम्रेर पनि सुक्न थालेको समयमा बाक्लो हिमपात भएपछि किसानहरु खुसी भएका छन् ।

सिमकोट गाउँपालिका– ५ की किसान नन्दकली रावतले ढिलो गरी परेको हिमपात किसानका लागि सुन बराबर मुल्यवान भएको बताउनुभयो । उहाँले जेठासी बाली कतै नउम्रेको त कतै उम्रेर पनि खडेरीले सुक्न थालेको बेला हिमपात भएपछि अब जेठासी बाली जोगिने बताउनुभयो । गत माघमा थोरै परेको हिउँले खासै फरक नपरेको बताउँदै रावतले बाक्लो हिमपात भएका कारण किसानका लागि बरदान सावित भएको बताउनुभयो ।

खार्पुनाथ गाउँपालिका– ४ का किसान बबरजङ्ग हमालले जेठासी बाली मात्र नभएर कात्तिके बाली छर्ने, खनजोत गर्ने समय सुरु हुन थालेको कारण पनि यो हिमपात किसानका लागि निकै उपयोगी भएको बताउनुभयो । उहाँले नयाँ बोटबिरुवा लगाउने समय सुरु भएको कारण खाल्डो खन्न सजिलो र बिरुवा लगाएपछि खाल्डोमा हिउँ भर्न पनि सहज भएको बताउनुभयो । हिमपात जारी रहेको कारण जमिनमाथि एक फिट हिउँ जमिसकेको छ । चिसो पनि निकै बढेको छ । स्थानीयलाई पशुवस्तु गोठ बाहिर निकाल्न सकिने अवस्था छैन भने चिसोले बरफ जमेको कारण धारामा पानी आउन छोडेको छ । हिमपात जिल्लाभर भइरहेको भए पनि उत्तरी नाम्खा गाउँपालिकामा दुई फिट हिउँ जमेको खबर प्राप्त भएको छ ।