कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सुरु

सुर्खेत – कर्णाली प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता सोमबारदेखि सुर्खेत स्थित निर्माणाधिन प्रदेश रंगशालामा सुरु भएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । साथै प्रतियोगिता उद्घाटनको अवसरमा दुई वटा प्याराग्र्लाडिगंबाट पुस्पगुच्चा छरेर अथिति, दर्शक तथा खेलाडी र खेल प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार प्रतियोगितामा कर्णालीका दश वटै जिल्लाका विभिन्न ६ वटा विधाका खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको छ । पालिका हुदै जिल्ला स्तरबाट छनौट भई आएका खेलाडीहरुको प्रतिस्पर्धाका आधारमा प्रदेश स्तरीय टिम छनौट हुनेछ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा उस्सु, कराँते, तेक्वान्दो लगाएतका खेलको डेमो देखाउनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो ।