सल्यानमा चट्टान छिचोल्दै विकटमा सडक, स्थानीय दंग

सल्यान – भीर फोडेर चट्टान छिचोल्दै छत्रेश्वरी गाउँपालिकाको दुर्गम बस्तीमा मोटरबाटो पुगेको छ। गाउँपालिकाको वडा नं ४ को झंखानी अक्कासी हुँदै त्रिवेणी जोड्ने सडक बनाएसँगै अक्कासी, झंखानी, बेतिनी, भेरिखोर, कालुपहरका बासिन्दा हर्षित भएका छन्।

उमेरले ७८ वर्ष पुगिसकेका अक्कासीका दुर्गालाल खत्रीले बल्ल आफ्नो गाउँठाउँमा उज्यालो पसेको बताए। उनले भने, ‘अक्कासीमा अहिले उज्यालो पस्यो। भीर हेर्दा त बाटो आउने जस्तो थिएन। स्थानीय सरकारको जोडले सडक आयो अति खुसी छौँ।’

सडक बनेपछि छिमेकी गाउँपालिका त्रिवेणीका बासिन्दालाई पनि सहज भएको त्रिवेणी–५ सिम्कका तेजबहादुर डाँगीले बताए। विकट बस्ती, एक घरबाट अर्का घरमा पुग्न पनि घण्टौँ लाग्ने आफ्नो गाउँबस्तीमा सडक आइपुगेपछि अक्कासीनिवासी यशोदा वलीले खुसी व्यक्त गरिन्।

बस्ती र घरधुरी थोरै भए पनि आफ्नो क्षेत्र कृषि उत्पादनका लागि महत्त्वपूर्ण भएको भन्दै ज्येष्ठ नागरिक फौदबहादुर खत्रीले आफूहरूको समस्या बुझ्ने, सुखदुःखमा साथ दिने स्थानीय सरकार रहेछ भन्ने अनुभूति भएको बताए।

जन अपेक्षा पूरा गर्न सकेकोमा सन्तुष्टि मिलेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले आफूहरूले ७ वटै वडामा बाटो, खानेपानी, सिँचाइ, विद्युत् लगायतका काम गरिरहेको बताए। विकट भएकाले ४ नम्बर वडालाई सबै जनप्रतिनिधिले प्राथमिकता दिएको उनको भनाइ छ।

३३ लाख ७८ हजार ९३१ रुपैयाँ बढी लगानी भएको पूर्वाधार विकास शाखाले जनाएको छ। ४५ दिनको कडा मेहनतपछि सडक पुगेको प्रमुख प्रशासकीय अधिकृत गुरुप्रसाद योगीले जानकारी दिए। चुच्चे पोखरादेखि अक्कासी र अक्कासीदेखि भेरीखोरसम्म महत्त्वपूर्ण काम भएको उनले बताए। – thahakabar