डिजिटल कर्णाली कन्क्लेभ फागुनमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको सहभागिता हुने

सुर्खेत – फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता हुनेछ ।

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० बढी विज्ञ र सरोकारवालाहरू वक्ताको रूपमा रहनेछन् । सुर्खेत, वीरेन्द्रनगरस्थित सिद्धार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघीय सरकार, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहनेछ । कन्क्लेभमा अन्य ६ प्रदेशहरूबाट पनि सम्बन्धित मन्त्री र सचिवहरूलाई निमन्त्रणा गरिनेछ ।

कन्क्लेभमा ४ वटा महत्त्वपूर्ण किनोट प्रस्तुति र ६ वटा प्यानल सेसनहरू रहेका छन् । यसैगरी नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरूको पावर संवाद सेसन पनि समावेश छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमताको कुराहरूबाट कार्यक्रमको सुरुवात हुनेछ भने डिजिटल रूपान्तरणको प्रतिबद्धता र टेकअवेको रूपमा कार्यक्रमलाई समापन गरिनेछ ।

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रूपान्तरणको बाटोमा डोराउन कन्क्लेभ फलदायी हुने आयोजक संस्थाहरूले जानकारी दिएका छन् । २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्‍याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको प्रतिबद्धता छ ।

कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका संस्थाहरूलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रहरूमा प्रविधिको प्रयोग प्रयोग मार्फत भइरहेका सकारात्मक प्रयासहरूलाई कन्क्लेभमा स्टल र छोटो भिडियो प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ । डिजिटल कर्णालीको लागि नयाँ आइडिया र भइरहेका इनिसिएटिभहरु वेबसाइट  www.digitalkarnali.org  मार्फत बुझाउन सकिनेछ ।