जहाँ नाबालक मात्रै पुजारी बन्छन्

करिब दिउसोको चार बजिसकेको थियो । पाँचौ दिनको यात्रामा दैलेखको प्रसिद्ध ज्वाला बल्ने श्रीस्थान मन्दिर दर्शनपछि दुल्लुबजार छिचोल्दै तल्लो डुङ्गेश्वर पुगियो । डुङ्गेश्वर पुुगेपछि शिद्धेश्वर महादेव मन्दिर दर्शन नगरी फर्किने पनि कुरो भएन । कर्णाली नदि र लोहोरे खोलाको संगमस्थलमा रहेको शिद्धेश्वर महादेव मन्दिर दर्शन गर्नेको दैनिक भिड पनि लाग्ने रहेछ । माघ ५ गतेको कुरा हो । मौषम निकै चिसो थियो । हामी मन्दिर प्रवेश गर्दा चौरमा चार जना बालक गुच्चा खेलिरहेका थिए । मन्दिरभित्र पुजारी नै थिएन् । हामीले खेलिरहेका बालकलाई सोध्यौं ।

बाबु मन्दिरका पुजारी खै ?,

गुच्चा खेल्दै गरेका एक बालकले हत्तपत्त उठेर आए । अनी भने, अंकल मै हुँ पुजारी ।

मलाई आश्चर्य लाग्यो । फेरी सोधे, बाबु यहाँको मुख्य पुजारी कता जानु भाको छ ?

मुख्य पुजारी नै मै हुँ ।

साधारण पोशकमा रहेका ती बालक मन्दिरभित्र छिरे । र एकैछिनमा पुजारीको पोशाकमा उत्रिए । मेरो मनमा कुरा खेलिरहेका थिए । तर पहिले मन्दिर दर्शन गरेर पुजारीबाट टिका लगाएँ । अनी सोधपुछ गर्न थाले । मन्दिरका पुजारीलाई ‘देउकेटा’ भनिदो रहेछ । उनै ‘देउकेटा’ सुवास गिरी १० बर्षका भएछन् । उनी विगत चार बर्षयता मन्दिरको ‘देउकेटा’ पुजारीको भुमिकामा छन् । मन्दिरमा भत्तजन नआएको बेला त्यसैगरी साथीहरुसँग खेलेर रमाउने रहेछन् । अनी भत्तजन आएपछि हत्तपत्त उठेर मन्दिर दर्शन गराउन तर्फ लाग्नेरहेछन् ।

सुरुसुरुमा पुजापाठबारे खासै जानकार नभएका सुवासले अचेल सबै ज्ञान सिकिसकेका छन् । उनलाई पुजापाठका लागि बुवा प्रेम गिरीले पनि सघाउने रहेछन् । धार्मीक परम्परा अनुसार मन्दिरमा कुमार केटालाई ‘देउकेटा’ अर्थात मुख्य पुजारी बनाउने चलन रहेछ । सोही चलन अनुसार सुवास पनि ६ बर्षकै उमेरमा ‘देउकेटा’ पुजारी नियुक्ति भएका रहेछन् ।

दुल्लु नगरपालिका–१ स्थित उक्त मन्दिरमा सुवास भन्दा पहिले जीवन गिरी ‘देउकेटा’ चयन भएका रहेछन् । २०७७ मा एसईइ परिक्षा दिनुपर्ने र १८ बर्ष पुरा भईसकेको हुँदा जीवन गिरी मन्दिरबाट बाहिरिएका थिए । धार्मिक परम्परा अनुसार ‘देउकेटा’ बनेका नाबालकको बिहे गर्ने उमेर भएपछि मात्रै पुजारीबाट बाहिरीने चलन छ । सुरसुरुमा सुवास गिरीलाई तिनै जीवन गिरीले काममा सहयोग गरेका रहेछन् ।

हाल सुवास गिरी महादेव मावीमा कक्षा ६ मा अध्ययनरत छन् । सुवास करिब ८ बर्ष अझै मन्दिरमा ‘देउकेटा’ बस्नुपर्ने हुन्छ । परम्परा अनुसार गिरी परिवारबाट नाबालकलाई मन्दिरमा ‘देउकेटा’ पुजारी बनाउने चलन रहेछ । बिहान, बेलुका पुजापाठ गर्नु, मन्दिरमा आएका भक्तजनहरुलाई टिका लगाई दिनु देउकेटाको दिनचार्या हो । मन्दिरमा हप्ताको मंगलबार र शुक्रबार पुजापाठ गर्ने भक्तजनको घुइँचो लाग्ने हुँदा देउकेटाको पढाई समेत बिग्रिने देखिन्छ । मन्दिरमाका ‘देउकेटा’ले आफुले बनाएको खाना बाहेक होटलमा चिया, नास्ता नखाने, महिनावारी भएकालाई नछुने चलन छ । यदी छोएमा देवता रिसाउने र पुजारी बिरामी हुने, सर्पले लखेट्ने, घरमा अनिष्ट हुने अन्धविश्वास रहेको छ । पाठपुजा गर्ने सक्ने उमेर देखि १८ वर्षसम्म मात्र ‘देउकेटा’ राख्ने चलन छ । देउकेटाको १८ वर्षपछि बिहेवारीको अवस्था रहने भएकोले परम्परा अनुसार ‘देउकेटा’ हटाउने गरिन्छ ।

‘देउकेटा’ सुवास गिरीलाई विद्यालयमा शिक्षकहरुले समेत छुट्टै राखेर पढाउने रहेछन् । विद्यालयमा साथीहरुसँग खेल्ने मन लागेपनि सुवासलाई हेरेर बस्नुको विकल्प रहेनछ । ‘देउकेटा’ सुवासलाई घरमा आमा बुवाले दिएको खानेकुरा खाने र महिनावारी भएकालाई छुने छुट छैन । धर्म संस्कारका नाममा बालबालिकाको अधिकार हनन् गरिएको भन्दै केही अधिकारकर्मीले विरोध समेत गरेका रहेछन् । तर धार्मिक आस्था नखल्बलिने गरी बालकले पनि पढ्न, लेख्न र खेल्न पाउनुपर्ने हो । यो नै बालबालिकाको नैसर्गिक अधिकार पनि हो ।

आधुनिक समाजमा कलंकको रुपमा रहेको देउकी प्रथा क्रमशः हराउँदै गएपनि उक्त मन्दिरमा भने देउकी प्रथाकै झल्को दिने ‘देउकेटा’ प्रथा हट्न सकेको छैन् । धार्मीक परम्परा अनुसार मन्दिरमा कुमार केटा ‘देउकेटा’ नचढाए अनिष्ट हुने, दैवी प्रकोप आउने जस्ता अन्धविश्वास कायमै छन् । उक्त मन्दिर दैलेखका पञ्चकोशी तिर्थस्थलको प्रवेशद्धारा पनि हो । बालबालिकालाई धार्मिक स्थलमा देउकी, देउकेटा जस्ता कार्यमा संलग्न गराउन नहुने कानूनमा उल्लेख गरेपनि धार्मिक परम्पराअनुसार यस कार्यले निरन्तरता पाएको छ ।

वडाअध्यक्ष तर्कबहादुर खड्काका अनुसार ‘देउकेटा’ सुवासको खाजा, खाना तथा पुजापाठ खर्चका लागि वडाले समेत बार्षिक ६०–७० हजार रकम खर्च गर्दै आएको छ । मन्दिर संरक्षण र भौतिक संरचना निर्माणमा नगरपालिकाले बजेट व्यवस्थापन गरिरहेको छ । धार्मिक पर्यटन विकास तथा संरक्षणमा जोड दिनु राम्रो कुरा हो । तर मन्दिरमा ‘देउकेटा’ अर्थात पुजारी राख्दा नाबालकलाई मात्रै राख्नुपर्छ भन्ने धार्मिक अन्धविश्वास भने हटाउ जरुरी छ । नाबालकलाई ‘देउकेटा’ बनाउदाँ उसको पढाईसँगै शाररिक तथा मानसिक रुपमा पर्ने असरको पनि ख्याल गर्न जरुरी छ ।