माइनसमा झर्‍यो जुम्लाको तापक्रम, चिसोले जनजीवन प्रभावित

जुम्ला – जुम्लाको न्यूनतम तापक्रम माइनसयमा गएसंगै अत्याधिक जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार शुक्रबार जिल्लाको न्यूनतम तापक्रम –२ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

तापक्रम माइनसयमा झरेसंगै जाडो निकै बढेको छ । विहान र बेलुका चिसोले घरबाट बाहिर निस्कन कठिन हुने गरेको चन्दननाथ नगरपालिका–४ का स्थानीय सरिता न्यौपानले बताउनु भयो । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको हो । चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या समेत बढेको छ । पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक पुजन रोकायाको भनाइ छ ।

चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सख्या बढेका छन् । यो समयमा दैनिक दुई सय बढी जनासम्म बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेको कर्णाली स्वास्थ्य विज्ञानको नाम दर्ता गरिने शाखाले जनाएको छ ।

लगातार बढ्दै गएको चिसोबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । उनीहरुमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्य चौकीमा इन्चार्ज कमल रावतले बताउनुभयो ।
चिसो ह्वात्तै बढेपछि जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

चिसोले सदरमुकाम खलङ्गामा चहलपहल घटेको छ । बिहानको समयमा सडकमा सवारी साधनसमेत चल्न निकै गाह्रो हुने गरेको पातारासी गाउँपालिकाका स्थानीय मुनबहादुर ऐडीले बताउनु भयो । चिसोले घर बाहिर निस्किन सकिएको छैन । चिसोले गाउँबाट ट्युसन पढ्न बजार आएका विद्यार्थीलाई सकस भएको रत्न चुडेश्वर माध्यमिक विद्यालय कक्ष ११ मा अध्ययनरत विद्यार्थी विशेष बुढाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या गरेको यहाँका सामुदायिक विद्यालयहरुले जनाएका छन् । चन्दननाथ नगरपालिका स्थानीयवासी सुनिता रावतका अनुसार न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने गरेको छ । जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्याले विकासे कामलाई प्रभावित पारेको जिल्लाका स्थानीयवासीले जनाएका छन् ।

जाडोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेका छन् । माथिल्लो कर्णालीको हिमाली जिल्ला हुम्ला, मुगुर डोल्पामा गत मंसिर १८ गते हिमपात समेत भएको थियो । जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्याले विकासे कामलाई प्रभावित पारेको सिंजा गाउँपालिकाले जनाएको छ । – himaliya times