काठमाडौं – महिला कानुन र विकास मञ्च ९एफडब्लूएलडी० र राष्ट्रिय महिला आयोगले संयुक्तरूपमा जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गरेका छन् ।
विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरूले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको एफडब्लूएलडी सचिवालयको तर्फबाट नवीनकुमार श्रेष्ठ र आयोगका तर्फबाट अध्यक्ष कमला पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा जाजरकोट भूकम्पले पाँच वर्ष मुनिका १६ हजार १२७ बालबालिका र चार हजार ६७ गर्भवती तथा सुत्केरी प्रभावित भएको जनाइएको छ । भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा पाँच वर्ष मुनिका १० हजार ५६० बालबालिका प्रभावित छन् ।
यस्तै, एक हजार ३६० गर्भवती र ९०० सुत्केरी भूकम्पबाट प्रभावित रहेका छन् । विज्ञप्तिमा रुकुम पश्चिममा पाँच वर्ष मुनिका बालबालिका पाँच हजार ५६७ जना प्रभावित भएको उल्लेख छ ।
यस्तै, एक हजार ६८ गर्भवती र ७३९ सुत्केरी भूकम्पबाट प्रभावित रहेको जारी विज्ञप्तिमा जनाइएको छ । ती जिल्लामा तीन हजार ७८१ जना ज्येष्ठ नागरिक, ५९६ दीर्घरोगी र ५१६ जना अपांगता भएका व्यक्ति भूकम्पबाट प्रभावित छन् ।
एफडब्लूएलडी, सेन्टर फर रिप्रोडक्टिभ राइट, आइपास, मेरी स्टोपस, कृपा, पीएसआई, सञ्चारिका, योसान, भिजिबल इम्पिक्ट, साथी लगायतका १४ वटा गैरसरकारी संस्थाले ध्यानाकर्षणमा ऐक्यबद्धता जनाएका छन् ।