सुर्खेत – कर्णाली प्रदेशका बालबालिकाको क्षमता विकासका लागि ३ दिने तालिम सुरु भएको छ । कर्णाली प्रदेश बाल क्लव सञ्जालमा आवद्ध कर्णालीका बालबालिकालाई लक्षित गरी तालिमको आयोजना गरिएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा बुधबार मंसिर ६ गतेदेखि सुरु भएको ३ दिने क्षमता विकास मंसिर ८ गते सम्पन्न हुने भएको छ । तालिम सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश र बाल अधिकारका लागि साझा अभियान सीसीआर कर्णाली र सेभ द चिल्ड्रेनको आयोजनामा संचालन भएको हो ।
तालिमपछि प्रदेश बालक्लव सञ्जालको सक्रियतामा अभिवृद्धि हुने, प्रदेशका बालबालकाहरुको सवालहरु अध्यावधिक गरि प्रथामिकीकरण हुने र बालअधिकार र बाल क्लवको बारेमा क्षमता विकास हुने अपेक्षा राखिएको सीसीआर कर्णालीका टेकराज आचार्यले बताए । तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाका गरी २५ बालबालिका र १० जना अभिभावकको सहभागीता रहेको छ ।
यसअघि गत डिसेम्बर २०२२ मा सामाजिक विकास मन्त्रालय, सीसीआर कर्णाली, सेभ द चिल्ड्रेन, यूनिसेफ, प्लान इन्टरनेशनल, केयर नेपाल र कोपिला भ्याली सेवा समाजको संयुक्त साझेदारीतामा प्रथम कर्णाली प्रदेश बाल भेलाको आयोजना गरि २१ सदस्यीय प्रदेश बाल क्लव नेटवर्कको कार्यसमिति चयन गरिएको थियो ।
बालबालिकाको एजेन्सीको रुपमा कर्णाली प्रदेशमा गठित यस प्रदेश बाल क्लव सञ्जालमा आबद्ध पदाधिकारीहरुको लागि, बालअधिकार, पैरवी, अभियान र वकालत तथा लैगिंक समानता तथा सामाजिक समावेशीकरण, अन्र्त्तवर्गीयता, यौनिक तथा लैगिंक अल्पसंख्यक, अपांगता, जलवायू परिर्वतन र वातावरण संरक्षणको सवालमा क्षमता विकास गर्ने उद्धेश्यले ३ दिने क्षमता विकास तालिमको आयोजना गरिएको हो ।