सुर्खेत – शुक्रबार मध्यरातमा भूकम्प जाँदा गोरखबहादुर सिंहको परिवार खलंगामा मस्त निद्रामा थियो । भूकम्पले घर भत्किँदा उहाँले दुई छोरी र एक आफन्त गुमाउनुभएको छ । भूकम्पमा परी उहाँसहित जेठी छोरी र श्रीमती पनि घाइते हुनुभएको छ् ।
बारेकोट गाउँपालिका–४ जिरी स्थायी घर भएका सिंह दम्पतीको जिल्ला अस्पताल जाजरकोटमा र उहाँकी छोरीको नेपालगञ्जमा उपचार भइरहेको गोरखका छोरा नविन सिंहले बताउनुभयो । तर भूकम्पमा परी दुई बहिनिको दुखद निधन भएपनि उर्जा र उपसनाको सपना भने अधुरै रहेको उहाँ बताउनुहुन्छ ।
सिंहकी माइली छोरी २१ वर्षीया उपसना सिंह अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो । सम्पूर्ण प्रक्रिया सकेर उपसना यही कार्तिक २६ गतेको भिसाको प्रतीक्षामा बस्नुभएको थियो । कान्छी छोरी १८ वर्षीया उर्जा सिंह प्लसटु सकेर एमबीबीएसको तयारी गर्दै हुनुहुन्थ्यो ।
अस्ट्रेलियामा गएर पढ्दै कमाउदै घरपरिवारलाई सहयोग गर्ने उपसनाको सपना थियो । भने एमबीबीएस डाक्टर बनेर समाज सेवा गर्ने उर्जाको सपना थियो । तर उहाँहरु दुबैजनाको सपना भूकम्पले अधुरै बनाइदियो ।
उर्जा र उपसनासँगै २५ वर्षीया उहाँकी मामाकी छोरी मेलिना सिंहको पनि सँगै निधन भएको छ । उहाँहरु तीन बहिनि सँगै हुनुहुन्थ्यो । मेलिनाको पनि इन्जिनियर बन्ने सपना थियो । इन्जिनियररिङ अध्ययनरत मेलिनाको पनि इन्जिनियर बन्ने सपना अधुरै रहेको छ । मृतक तीनै जनाको शनिबार परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
गोरखबहादुर सिंह तीन छोरी, एक आफन्तकी छोरी र श्रीमतीसहित जाजरकोट सदरमुकाम खलंगामा बस्दै आउनुभएको थियो । रातको समय भएकाले तत्कालै उद्दार हुन नसक्दा छोरी गुमाउनुपरेको पीडाले अहिले गोरखबहादुर निकै दुःखि हुनुहुन्छ ।
हाल घाइते गोरखबहादुरको अवस्था खतरामुक्त भएपनि सन्तानवियोगले सिंह परिवार विक्षिप्त बनेकोे छ । समयमै उद्दार र उपचार हुन सकेको भए छोरीहरूलाई बचाउन सकिन्थ्यो की ? भन्ने प्रश्नले मनमा कुरा खेलिरहेको गोरखबहादुर बताउनुहुन्छ ।
मृतकको संख्या घट्यो
जाजरकोट रामीडाँडामा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । यसअघि जाजरकोटका तीन पालिकामा १०५ जनाको मृत्यु भएको भनिएपनि नाम दोहोरो परेपछि मृतकको संख्या भने घटेको छ ।
प्रहरीका अनुसार मृतक चार जनाको नामावली दोहोरो परेको हो । १५७ जना मृतक भनिएपनि अब मृतको संख्या १५३ जना मात्रै रहेको छ ।
मृतकमध्ये १ सय ४७ जनाको परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटका १०१ जना मध्ये ९५ जनाको शव आफन्तले बुझेर अन्तिम दाहसंस्कार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार ६ जनाको शव आफन्तले अझै बुझेन बाँकी छ । यस्तै रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाकै आफन्तद्वारा अन्तिम संस्कार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टाईले मृतकहरूको आइतबार नै अन्तिम संस्कार गरिएको बताउनुभयो । प्रहरीका अनुसार मृतकमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् । जसमा ८२ जना बालबालिका पनि पर्दछन् ।
प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार उक्त भूकम्पमा परी जाजरकोटमा ५० र रूकुम पश्चिममा ३२ जना बालबालिकाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार जाजरकोटमा मृत्यु हुनुभएका एक सय एक जनामध्ये ५० बालबालिका रहेका छन् । जसमा २२ बालिका र २९ बालक रहेका छन् ।
यस्तै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएकोमा ३२ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । जसमा १७ बालिका र १५ बालक रहेका छन् ।