सुर्खेत – सुर्खेतको अमर ज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौँ सेमेस्टरकी विद्यार्थी हुनुहुन्थ्यो दैलेखकी एलिना भण्डारी । उहाँको इन्जिनियर बन्ने सपना पनि झण्डै पूरा हुनै लागेको थियो । तर उहाँको सपना अधुरै रहेको छ ।
चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गर्दैआउनुभएकी एलिनाले गत वर्ष भदौमा निजामति सेवामा समेत प्रवेश गर्नुभएको थियो । तर लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा सर्वेक्षक ९अमिन० मा सिफारिस हुनुभएकी एलिनाको इन्जिनियर बन्ने सपना थियो ।
पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै जानुभएकी एलिना र उहाँका भाईको शुक्रबार राती आफ्ना भुकम्पमा परी निधन भयो । दैलेखको दुल्लु नगरपालिका–६, पुसाकोटकी २२ वर्षीया मृतक एलिना भण्डारीले दशैं मनाएर साथमा भाई प्रज्वल शाहीलाइ समेत सँगै लिएर जाजरकोट जानुभएको थियो ।
उहाँहरु नापी कार्यालय जाजरकोटको सरकारी क्वार्टरमा सुतेकै अवस्थामा भवन भत्किँदा निधन भएको हो । ७ कात्तिकमा दशैंँ मान्न घर पुग्नुभएकी एलिना विगत चार दिनअघि मात्र जाजरकोट सदरमुकाम खलंगा पुग्नुभएको थियो ।
उहाँले दशैं–तिहार बिदामा बसेका भाइ प्रज्वल शाहीलाई आफूसँगै लिनुभएको हो । एलिना र प्रज्वलका आमा एकै भए पनि बुवा भने फरक हुन् । बुवाको मृत्युपछि एलिनाकी आमाले दोस्रो विवाह गर्नुभएको हो ।
पढाइमा अब्बल र मिलनसार एलिनाको निधनले घर परिवारमा मात्रै नभई विद्यालयलाई समेत ठूलो क्षति पुगेको अमर ज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले बताउनुभयो । दिदिभाईको निधनको खबरले आफन्त र गाउँले तथा उहाँका साथीभाई दुस्खि भएका छन् ।
कर्णाली सरकारको टोली प्रभावित क्षेत्रमा
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्र जाजरकरोटमा स्वास्थ्यकर्मी र सामाग्रीसहितको हेलिकप्टर पठाएको छ ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीका अनुसार स्वास्थ्यकर्मी र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा सहितको टोली नेपाली सेनाको हेलिमार्फत् जाजरकोट पुगेको हो ।
साथै सुर्खेतदेखि स्थलमार्गबाट पनि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ । भूकम्पका कारण निम्तिन सक्ने खाद्य जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकारले नेपालगन्ज, दाङ र सुर्खेतबाट आवश्यक खाद्य सामाग्री समेत ढुवानी गर्न थालेको मन्त्री जिसीले जानकारी दिनुभयो ।
भुकम्प प्रभावित क्षेत्रमा विभिन्न निकायबाट राहात सामाग्री समेत निर्यात हुन थालेको छ ।