काठमाडौँ – नेपालमा आफ्नै कृषि उत्पादनबाट भएको आम्दानीले ४५ प्रतिशत परिवारलाई मात्रै वर्षदिन खाना पुगेको पाइएको छ । राष्ट्रिय कृषिगणना २०७८ अनुसार ४१ लाख ३० हजार ७ सय ८९ कृषिकर्म गर्ने परिवारमध्ये १ लाख ८५ हजार ६ सय ८० परिवारलाई मात्रै खाना पुग्छ, जुन ४५ प्रतिशत परिवार सङ्ख्या हो ।
यस अघिको कृषि कृषिगणनाले ४० दशमलव १ प्रतिशत परिवारलाई वर्षदिन खाना पुगेको थियो । कृषिगणनाअनुसार १ महिनादेखि ३ महिनामात्रै खाना पुग्ने परिवार सङ्ख्या २३ दशमलव ९ प्रतिशत छ । ४ महिनादेखि ६ महिनासम्म खाना पुग्ने परिवार सङ्ख्या ४६ दशमलव ८ प्रतिशत छ ।
यस्तै, ७ महिनादेखि ९ महिनासम्म खाना पुग्ने २० दशमलव ४ प्रतिशत छ । १० देखि १२ महिनासम्म खाना पुग्ने परिवार सङ्ख्या ८ दशमलव ८ प्रतिशत छ । उता, खाना नपुग्ने परिवारको आम्दानीको स्रोत आफ्नो जिल्लाभित्रै ज्यालामा काम गरी परिवार पाल्ने १० दशमलव १ प्रतिशत छन् ।
यस्तै, जिल्ला बाहिर तर देशभित्रै ज्याला मजदुरीको काम गर्ने परिवार सङ्ख्या ६१ दशमलव ७ प्रतिशत छ । देशबाहिर काम गर्ने परिवार सङ्ख्या १७ दशमलव ८ प्रतिशत छ ।
त्यसैगरी, पेन्सनबाट ३ प्रतिशत परिवार पालिन्छन् । ऋण लिएर परिवार पाल्ने ५ दशमलव ५ प्रतिशत र अन्य कार्य गरी २ प्रतिशत परिवारको आम्दानी हुने कृषिगणनामा उल्लेख छ ।