हमासले गर्‍यो इजरायलमा आक्रमण : २० मिनेटमा पाँच हजार रकेट प्रहार

शनिबार बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको छ। गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको छ।

हमासका प्रमुख मोहम्मद डाइफले यी आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, हामी सक्षम छौं भनी घोषणा गर्ने निर्णय गरेका छौं।

हमासले यस अपरेशनलाई ‘अल अक्सा स्टर्म’ नाम दिएको छ। हामीले दुश्मनलाई पहिले नै चेतावनी दिएका छौं। इजरायली ले हाम्रा नागरिकहरू विरुद्ध सयौं नरसंहार गरेका छन्। यस वर्ष उनीहरूका कारण सयौं मानिस शहीद र घाइते भएका छन्ु,डाइफले भने, ‘हामी अपरेशन अल अक्सा फ्लडको सुरुवात घोषणा गर्छौं। हामी घोषणा गर्छौं कि दुश्मनको लक्ष्य, एयरपोर्ट र सैन्य आधारहरूमा हाम्रो पहिलो आक्रमणमा, पाँच हजार भन्दा बढी रकेटहरू प्रहार गरिएको छ।‘

यस क्रममा गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका छन्। इजरायलले पनि दर्जनौं लडाकु गाजा सीमा पार गरी देश प्रवेश गरेको बताएको छ।

यसपछि इजरायलभरि चेतावनी जारी गरिएको छ र सीमा क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। प्यालेस्टिनी लडाकुहरूले पनि गाजा पट्टीबाट इजरायलतर्फ रकेट प्रहार गरेका छन्।

यी रकेट हमलाहरू पछि, इजरायलको ठूलो क्षेत्रहरूमा चेतावनी साइरन सुनिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।