वीरेन्द्रनगर तनावग्रस्त, होस्टेलमा बालकको मृत्यु भएपछि स्कुल आगजनी

सुर्खेत – सुर्खेतमा एक निजी विद्यालयमा आगजनी भएको छ । सुर्खेतको वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका बोडिङ्ग स्कुलको होस्टेलमा एक बालकको मृत्यु भएपछि आफन्तले विद्यालयमा आगजनी गरेका छन् ।

शुक्रवार विद्यालको होस्टेलमा बसेर अध्यन गरिरहेका बालकको शव भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन् ।

बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि स्थिती नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार स्थिती नियन्त्रणमा लिने प्रयास भई रहेको छ ।

कक्षा दुईमा अध्ययनरत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामीमगर साँझ साढै चार बजे बेडमै झुण्डिएको अवस्था फेला परेका थिए । यस विषयमा विद्यालयले कुनै प्रतिक्रिया दिएको छैन् ।

यस्तै सुर्खेतको वीेरेन्द्रनगर बजार क्षेत्र अहिले तनावग्रस्त अवस्थामा छ । शुक्रबार बिहान दैलेखका एक बालकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि आफन्तले आन्दोलन गर्दै सडक बन्द गराएका छन् ।

दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको वीरेन्द्रनगरको फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

उनी हाल वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए । दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली कियर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ ।

दुर्घटना लगत्तै मोटरसाईकल चालक फरार छन् । मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको बताइएको छ । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै कर्णाली केयर अस्पताल अगाडी र गोकुल कटेज नजिकैको फोरलेन सडक अवरुद्ध गरेका हुन् ।