रुकुम पश्चिममा विद्यालयबाट फर्किंदै गरेका दाजु-बहिनीको बाढीले मृत्यु

रूकुम पश्चिम – विद्यालयबाट घर फर्किंदै गरेका एकै घरका दुई बालबालिकाको बाढीले बगाउँदा मृत्यु भएको छ।

चौरजहारी नगरपालिका- ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार साँझ स्थानीय म्याउला नामको ठाडो खहरे खोलाले बगाउँदा मृत्यु भएको हो।

बाढीले बगाएपछि बेपत्ता भएका बालबालिकाको शव आइतबार राति नौ बजे घटनास्थलभन्दा केही तल फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज भट्टराईले जानकारी दिए।

‘दाजु बहिनी विद्यालयबाट सँगै घर फर्किने क्रममा आएको खहरेको बाढीले उनीहरुलाई बगाएको हो,’ डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘स्थानीयको सहायतामा खोजतलास गर्ने क्रममा हामीले गएराति नौ बजे उनीहरुको शव फेला पार्यौं।’

मनोजको शव घटनास्थलबाट १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको उनले जानकारी दिए।

उनीहरु आधारभूत विद्यालय घर्तिकाँडाबाट घर फर्किंने क्रममा घटना भएको प्रहरीले जनाएको छ। दाजु मनोज कक्षा ३ र बहिनी भावना कक्षा १ मा अध्ययनरत थिए।

अरुबेला पानी नहुने खहरे खोलामा बाढी आएको बेला दाजु बहिनीले तर्न खोज्दा घटना भएको हुनसक्ने डीएसपी भट्टराईले बताए।

उनीहरु पढ्ने विद्यालय घरबाट झण्डै डेढ किमी दुरीमा पर्छ। विद्यालयबाट घर फर्किंदै गरेका दुबै छोराछोरीको बाढीले बगाएर मृत्यु भएपछि बुढाथोकी परिवार शोकमा डुबेको छ।