राम्रो काम गर्दागर्दै कसले हटाउछ ? हेरौंला : प्रचण्ड

सुर्खेत – प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकारबाट आफुलाई कसैले हटाउन नसक्ने दावी गरेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न समाजबादी मोर्चा नेपालको सन्देश सभामा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।

‘राम्रो काम गर्दागर्दै मलाई सरकारबाट कसले हटाउछ ? हेरौला’ उनले भने, ‘प्रधानमन्त्रीमा रहनै पर्छ भन्नेत छैन । तर राम्रो काम गर्दागर्दै थप काम गर्ने वातावरण दिनपर्छ ।’

गलत तत्वहरु सरकारलाई फसाउने सड्यन्त्रमा लागेको भन्दै यसले कुनै असर नगर्ने उनको दावी छ । ‘मैले सरकारको नेतृत्व गरेको आठ महिना भयो । यो अवधिमा धेरै काम भएका छन् । हेर्दैजानुहोस् झन धेरै राम्रो काम हुनेछ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा सत्ता गठबन्धनको पूर्ण साथ छ । तर एमाले यो देखेर आत्तिएको छ । अब मेरो बाँकी जीवन राष्ट्र र जनताको लागि बिताउनेछु ।’

सत्ता गठबन्धन र सरकारले चलाएको भ्रष्टचार विरुद्धको अभियान नरोकिने उनले बताए । ‘विभिन्न भ्रष्टचार प्रकरणमा अनुसन्धानको शिलशिलमा दोषि ठहरीए मलाई पनि समात्न प्रहरीलाई भनेको छु’ उनले थपे, ‘दोषि कोही छुट्ने छैनन् । निर्दाेष कोही फस्ने छैनन् । सत्ता गठबन्धन, सरकार र समाजबादी मोर्चा यसमा कटिबद्ध छ ।’

जो समाजबादको पक्षमा उभिन्छ उसैलाई जनताले पत्याउने समय आएको भन्दै प्रधानमन्त्री प्रचण्डले मोर्चा प्रारम्भ र सुरुवात मात्रै भएको बताए । ‘हेर्दैजानुहोस् मोर्चा कहाँ पुग्छ । हामी क्रमश अघि बढ्छौ । सामाजिक न्याय र सुशासनको निम्ति मोर्चा निरन्तर लड्नेछ’ उनले भने, ‘सरकारलाई धारे हात लगाउनेहरुले जनताको हित चाहेका छैनन् । तीनिहरुलाई देश हात पार्दा संकटमा पार्ने पक्का छ ।’

साथै जनयुद्ध र जनआन्दोलनलाई एक ठाउँमा ल्याउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालको प्रशंसाा गरे । मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लप) लगाएत नेताहरुको सहभागिता रहेको थियो ।