स्वीरः बाँधिराखेको अवस्थामा अंगभंग हुनेगरी काटिएका गोरू।
सुर्खेत- बाँधिराखेको अवस्थामा अंगभंग हुनेगरी काटिएका गोरू। सौजन्यः कलम कुमार थापा
दैलेखको भैरवी गाउँपालिका–२ रावतकोटका कमल थापा आफ्ना दुइटा गोरुलाई बिहीबार बेलुका घरनजिकैको बारीमा बाँधेर, घाँस दिएर घर गए। यो बेला मलका लागि गाईगोरू बारीमा बाँध्ने गरिन्छ।
बिहीबार तल्लो गरामा बाँधेका गोरू माथिल्लो गरामा सार्न भनेर थापा गोरू भएको ठाउँमा आए। आफ्ना गोरूको अवस्था देखेपछि डराए।
‘बिहान माथिल्लो बारीमा गोरू सार्छु भनेर आएको थिएँ, गोरूको त शरीरभर रगत देखेपछि एकछिन त बेहोस जस्तै भएँ,’ उनले भने।
थापाका दुइटै गोरूलाई निर्मम तरिकाले कसैले ठाउँ-ठाउँमा काटिदिएका छन्।
थापाका अनुसार एउटा गोरूको दुइटै खुट्टा छिनाइदिएका छन्, मुखमा पनि धारिलो हतियारले छियाछिया पारेर काटिएको छ। अर्को गोरूको एउटा खुट्टा र पुच्छर छिनाइएको छ भने मुख र जुरोमा छियाछिया हुनेगरी धारिलो हतियारले काटिएको छ।
‘कसले काट्यो भन्ने बारे थाहा छैन, बाँधिराखेका बोल्न नसक्ने प्राणीलाई यसरी निर्दयी बनेर कसरी काटे होलान्,’ थापाले भने, ‘कसैलाई पूर्ण रूपमा शंका गर्न सक्ने अवस्था पनि छैन।’
उनले दुई जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए।
एक जनाको कान र सर्टमा रगट लागेको भेटिएपछि सोधपुछका लागि उनीसहित दुई जना प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।
भैरवी गाउँपालिका–२ का वडा अध्यक्ष हरि बहादुर थापाका अनुसार पक्राउ पर्नेमा छिमेकी राजु विष्ट र भीमबहादुर विष्ट छन्। पक्राउ परेकाहरूलाई सोधपुछका लागि गाउँपालिकामा रहेको प्रहरी चौकीमा राखिएको उनले जानकारी दिए।
पीडित (गोरूका मालिक) थापाले आफू जाहेरी दिन जिल्ला प्रहरी कार्यालय जान थालेको बताए।
‘एक जना अलि शंका लागेको मान्छे छ, उनीसँग हिजो अलिअलि विवाद भएको थियो,’ उनले भने, ‘यो अपराध गर्नेलाई पत्ता लगाउन म जाहेरी दिन जिल्ला प्रहरी कार्यालय जाँदैछु,’ उलने भने।
कानूनअनुसार यस्तो कार्य गर्ने व्यक्तिलाई कैद र जरिवाना दुवै सजाय हुन्छ। मुलुकी अपराध संहिताको दफा २८९ मा यस्तो कार्यलाई पशुपंक्षीसम्बन्धी कसूरका रूपमा व्याख्या गरिएको छ।
२८९ को उपदफा १ मा कसैले गाई वा गोरू मार्ने वा कुनै चोट पुर्याउने नियतले काम गर्न/गराउन नहुने उल्लेख छ।
यसरी कुनै गाई गोरू मरेमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ।
उपदफा ३ मा कसैले गाई वा गोरूलाई कुटी अंगभंग पारेमा त्यस्तो व्यक्तिलाई ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। ( सेताेपाटि)