रित्तै थियो मन्त्रालय, अनुगमन टोली देख्दा धमाधम आए कर्मचारी

सुर्खेत – कर्णाली प्रदेशमा शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन र नियमन गर्ने मुख्य उद्देश्य लिएको कानून मन्त्रालयकै कर्मचारीबाट नियम उल्लंघन भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीले कार्यालय समय पालनाको नियम उल्लंघन गरेका हुन् ।

एक अनुगमनको पृष्टिका आधारमा यो मन्त्रालयमा कार्यरत कर्मचारीहरु समयमै कार्यालय उपस्थित हुदैनन् । मंगलबार कर्णाली प्रदेश सभा अन्तर्गतको प्रदेश मामिला समितिले गरेको छड्के अनुगमनका क्रममा करिब ९० प्रतिशत कर्मचारीहरु १० बजेसम्म मन्त्रालय पुगेका थिएनन् ।

समितिकी सभापती तथा प्रदेश सभा सदस्य कल्याणी खड्काको नेतृत्वमा छड्के अनुगमन भएको हो । सो अवसरमा मन्त्रालयमा कार्यरत २६ जना कर्मचारीमध्ये कार्यालय सहयोगी सहित चार/पाँच जना कर्मचारी मात्रै उपस्थित भएका थिए ।

कोही काज, कोही तालिम, कोही घर बिदा त कोही जरुरी कामले ढिलो भयो भन्दै करिब बिहान साढे १० बजेसम्म कार्यालय रित्तै थियो । यतिसम्मकी मन्त्रालयका सचिवसमेत कार्यालयको काममा थिए भन्दै बिहान १०ः२२ मा कार्यालय पुगे । अनुगमन टोली मन्त्रालय रित्तै थियो । तर अनुगमन टोली आएको थाहाँपाएपछि कर्मचारीहरु धमाधम आएका थिए ।

अनुगमनका क्रममा बोल्दै समितिकी सभापति खड्काले मन्त्रालयमा कार्यरत कर्मचारीलाई कर्तव्यनिष्टभई समयको पालना गरी सेवाप्रवाहमा जुट्न निर्देशन दिइन् । नीति निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने मन्त्रालयका कर्मचारीले नै नियमको उल्लंघन गरे सेवाग्राहीमा राम्रो सन्देश नजाने भन्दै उनले अबदेखि सच्चिन निर्देशन दिइन् ।

समितिका सदस्य रनसिंह परियारले राज्यलाई आवश्यक पर्ने नीति कार्यान्वयनमा कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै कर्मचारी संयत्र नै व्यवस्थित र जिम्मेवार भएर चल्नुपर्ने बताए । सेवाप्रवाहका क्रममा आइपर्ने व्यवधान समधानमा समिति र संसद कर्मचारीको साथमा रहेको उनको भनाइ छ ।

यस्तै समितिका सदस्य महेन्द्र केशीले राजनीतिक र प्रशासनिक संयत्रहरु नागरिक प्रति उत्तरदायी हुनुपर्ने भन्दै अनेक बाहानामा उम्कने समयमै कार्यालय नआउने कुरा राम्रो नभएको बताए । समितिकी सदस्य दक्षिणा शाहीले सचिवको नेतृत्वमा समयमै काम नगर्ने र कार्यालय समय ढिला गर्ने कर्मचारीहरुले आगामी दिनमा आफुलाई सच्याउन आवश्यक रहेको औंल्याइन् ।

अनुगमनमा समितका सचिव मदनराज खड्का सहित पदाधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो । अनुगमनपछि मन्त्रालयका सचिव धुव्र घिमिरेले अनुगमन टोलीले दिएको सुझाब सल्लाहलाई ममन गरी काम गर्ने बताए । मन्त्रालयमा कर्मचारीको कुल दरवन्दी ३८ जना रहेकोमा हाल २६ जना मात्रै कर्मचारी कार्यरत छन् । जसमध्य चार जना काजमा रहेका छन् ।

सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भएगरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने क्षेत्राधिकार मामिला समितिलाई रहन्छ । प्रदेश सभा नियमावलीको नियम १५४ बमोजिम प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश लोकसेवा आयोग र सरकारका कामकाजको अनुगमन गर्ने अधिकार पनि समितिलाई दिइएको छ ।