ओली-प्रचण्ड एकै स्वर : कम्युनिष्ट कमजोर बनाउन खोज्‍ने आफैं असफल भए

'पार्टीलाई एक बनाउन बैठक सफल'

 काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी कमजोर बनाउन लाग्‍नेहरु असफल भएको बताएका छन्। शुक्रबार बसेको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन्।

‘देशी, विदेश र प्रतिक्रियावादी शक्तिहरु कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन लागिरहेका थिए’, ओलीले बैठकको सुरुमा भने, ‘तर, आजको बैठकबाट उनीहरु आफैँ असफल भएका छन्।’ पार्टीभित्रको समस्या र अन्तर्विरोधपछि पार्टीले बैठकपछि नयाँ एकताको उचाइ दिएको समेत बताए।

‘आजको बैठकपछि पार्टी एकताको नयाँ उचाइमा पुगेका छौँ’, उनले भने, ‘अब पार्टी एकतालाई बलियो बनाउँदै सकारात्मक ढंगले अगाडि बढ्न बाटो खुलेको छ।’ यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको समापनमा बोल्दै पार्टी एकता नयाँ उचाइमा पुगेको बताए। ‘वैचारिक बहसपछि हामी एकजुट भएका छौ’, उनले भने, ‘पार्टीलाई एकताबद्ध भएर संगठित रुपमा अगाडि बढाउन बैठक सफल भएको छ।’

पार्टीको निर्णयानुसार एकता महाधिवेशनमा केन्द्रित रहेर काम गर्नुपर्ने उनले बताए। प्रधानमन्त्री तथा अध्यक्ष ओलीको कार्यशैलीमा अर्का अध्यक्ष प्रचण्ड सहित बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले आपत्ति जनाए पछि चर्किएको विवादले पार्टी विभाजनका संघारमा पुगेको थियो। करिब ३ महिनाको रस्सा कस्सीपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सहमत भएका हुन्।

पार्टी फुटको संघारमा पुगेपछि विवाद समाधानका लागि कार्यदल पनि निर्माण गरिएको थियो। महासचिव विष्णुप्रसाद पौडेल सहितको कार्यदलको प्रतिवेदनका आधारमा ओली-दाहालले सहमतिको प्रस्ताव तयार पारेको थियो। आजको बसेको स्थायी कमिटीको बैठकले ओली-दाहालले तयार पारेको सहमतिको प्रस्ताव समेत पारित गरेको छ। पार्टीभित्र विवादमा रहेको अध्यक्षद्वयको कार्यविभाजन, सरकार र पार्टी नेतृत्वको काम, पार्टी महाधिवेशन, अमेरिकी परियोजना एमसिसी लगायतका बिषयमा पनि सहमतिमा निर्णय गरेको छ। (थाहाखबर)