कालिकोटका ५ स्थानीय तहमा कालाजारका बिरामी

 

मान्म – कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन्। पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन्।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन्। यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ।

आर्थिक वर्ष २०७७/७८ मा ४३ र २०७८/७९ मा २८ कालाजारका बिरामी फेला परेका उनले जानकारी दिए । जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको जिल्ला अस्पतालका प्रमुख डाक्टर संकेत विश्वकर्माले बताए।​

‘पहिला तराईमा मात्र देखिने कालजार र ओलौरोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ’, उनले भने, ‘तापक्रममा वृद्धि भएसँगै लामखुट्टे बढ्दा यो रोग देखिएको हो।’