सत्ता गठबन्धनका असन्तुष्ट दलको माग सम्बोधन गरेर बजेट पास हुँदै

 

काठमाडौँ – सरकारले बुधबार बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ।

मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका केही दलले भने अझै निर्णय गरिसकेका छैनन्।

मंगलबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।

यथास्थितिमा बजेट पास नगर्ने अडान लिएका एकीकृत समाजवादी, जसपालगायत दलले उठाएका केही विषय सम्बोधन गर्न तयार भएपछि बजेट पास गरेर जाने निर्णय भएको स्रोतले जानकारी दियो।

‘सत्ता गठबन्धन दलबीच बजेट पासको पक्षमा उभिने र पारित गरेर जाने सहमति बनेको छ,’ स्रोतले भन्यो, ‘दलहरूले ह्विप नै जारी गर्नुभएको छ।’