स्वास्थ्यकर्मीबिच गर्भपतन सम्बन्धि मुल्यमान्यताबारे छलफल

सुर्खेत – वीरेन्द्रनगरमा गर्भपतन सम्बन्धि मुल्यमान्यता र व्यवहार रुपान्तरणबारे छलफल तथा अभिमुखिकरण सम्पन्न भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न दुई दिने गर्भपतन सम्बन्धि मुल्यमान्यता र व्यवहार रुपान्तरणबारे अभिमुखिकरण सम्पन्न भएको हो । सो अवसरमा गर्भपतन सम्बन्धि मुल्यमान्यता र व्यवहार रुपान्तरणबारे छलफल भएको थियो । उक्त अभिमुखिकरण तथा छलफलमा सुर्खेतका नौ वटै स्थानीय तहका महिला स्थास्थयकर्मी (नर्र्सिङ प्रमुख) हरुको सहभागिता रहेको थियो ।

अभिमुखिकरणमा सहभागी स्वास्थ्यकर्मीहरुले सुरक्षित गर्भपतन सेवाबारे समाजमा रहेका गलत मुल्यमान्यता तथा व्यवहारलाई सही तरीकाले परिर्वतन गर्न आवश्यक भएको औल्याए । ‘गर्भपतन गराउनु पाप हो । यसले स्तनको क्यान्सर बढाउछ । गर्भपतन सेवालाई खुल्ला छाड्नु हुदैन’ भन्ने जस्ता समाजमा गलत धारणा रहेकाले यस्तो अवस्था परिवर्तनका लागि अझै जनचेतनाका अभियान सञ्चालन गर्नुपर्ने तालिममा सहभागीको भनाइ थियो ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेश भक्त गौतमले सुरक्षित गर्भपतनलाई कानुनले मान्यता दिएपनि समाजले सजिलै स्विकार गर्ननसकेको बताए ।

‘गर्भपतन गराउनेको चरित्र राम्रो हुदैन । बाँझोपनको सम्भावना बढाउछ भन्ने जस्ता गलत मुल्यमान्यता र महिलालाई लगाइने लाल्छनालाई सकारात्मक तरिकाले रुपान्तरण गर्न जरुरी छ’ कार्यालय प्रमुख गौतमले भने, ‘महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि अधिकारको सुनिश्चित गर्न र असुरक्षित गर्भपतनको कारणले हुने मातृ मृत्युदर कम गर्न सुरक्षित गर्भपतन गर्दा उपयुक्त हुन्छ । तर अमानविय र असुरक्षित गर्भपतनको रोकथाम गर्न जरुरी छ ।’

उनका अनुसार महिलाहरुको सशक्तिकरणको लागि टेवा पु¥याई दिगो विकास गर्न, बलात्कार, हाडनाता करणीबाट रहन गएको अनिच्छित गर्भको समस्या निराकरण गर्न, अनियोजित तथा अनिच्छित गर्भको निरन्तरताबाट पर्ने प्रभावलाई कम गर्न पनि सुरक्षित गर्भपतन उपयुक्त हुन्छ । गर्भपतन सेवा नेपाल सरकारले सुचिकृत गरेका स्वास्थ्यसंस्था तथा तालिम प्राप्त स्वाथ्यकर्मीबाट मात्र लिन उनले अनुरोध गरे ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र वीरेनद्रनगर–५ सुर्खेतमा कार्यरत बिष्णु गरुङले अभिमुखिकरणबाट आफुले प्रवाह गरेको सेवालाई थप उत्कृष्ट बनाउदै लजान सहयोग पुगेको बताइन् । साथै गर्भपतन सेवालाई अझै गुणस्तरीय बनाउदै लैजाने समेत उनले प्रतिबद्धता जनाइन् ।

यस्ता छन्, गर्भपतनसँग सम्बन्धि कानुनी व्यवस्था

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १५ अनुसार महिलाहरुले निम्न अवस्थामा गर्भपतन गर्न पाउने अधिकार रहेको छ ।

– गर्भवती महिलाको मन्जुरीले बाह्र हप्तासम्मको गर्भ,

– गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्ने भनी इजाजतपत्र प्राप्त चिकित्सकको राय बमोजिम गर्भवती महिलाको मन्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ,

– जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मन्जुरीले अठ्ठाईस हप्तासम्म गर्भपतन गराउन पाउने व्यवस्था रहेको छ ।

– रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आइ.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेखण्डमा महिलाको मन्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ,

– भुणमा कमी कमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मे र पनि बाँच्न नसक्ने गरी गर्भको भुणमा खराबी रहेको, वंशानुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भू्रणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मन्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ सुरक्षित रुपमा गर्भपतन गराउन सकिने कानुनी प्रावधान रहेको छ ।