काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट सच्याउनुपर्ने बताएका हुन् ।
‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ’, अध्यक्ष नेपालले भने, ‘सरकार दुर्घटनामा जान्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठीक भएको कुरालाई करेक्सन गर्नुपर्छ ।’
नेता नेपालले सरकार ढल्न दिन नहुने भन्दै त्यसका लागि सरकराले लचकता देखाउनुपर्ने बताए । ‘मेरो पनि प्रयास छ, सबैले लचकता देखाऔं । यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ’ उनले भने ।
अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा रहेको अखण्ड भारतको नक्शाबारे टिप्पणी गर्दै भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको दर्शनमा गएको विषयमा अध्यक्ष नेपालले कोही आस्थाले र कोही चर्चा कमाउनको लागि मन्दिर जाने गरेको टिप्पणी गरे ।