सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज (मंगलबार) लाई पेसी तोकिएको छ।

मंगलबार मुद्दाको अन्तिम फैसला आए सन्दीप कि कारागार फर्किने छन् कि मैदान। तर मंगलबार पनि अन्तिम फैसला हुन नसके सन्दीपलाई कानुनी अप्ठेरो छ।

सन्दीपले मुद्दाका कारण खेलमा सहभागी हुन कठिन भइरहेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए।

‘अहिले हामी मंगलबार (आज) फैसला हुन्छ भनेर नै तयारी गरिरहेका छौं’, वकिल घिमिरेले भनेका छन्, ‘तर कुनै कारण देखाएर मंगलबार पनि फैसला आउन सकेन भने सन्दीपको निर्णय यसै हुन्छ भन्ने भन्न सकिँदैन।’

लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला पछि सर्दै गएको छ। जिल्ला अदालत काठमाडौंमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन। जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने अनिश्चित भएको छ।