ड्रोन आक्रमणमार्फत पुटिनको हत्या प्रयास, रुसद्वारा विश्वयुद्धको चेतावनी

काठमाडौं – रुसले बुधबार ड्रोन आक्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको दाबी गरेको छ । युक्रेनविरुद्ध युद्ध सुरु भएयता पहिलोपटक रुसले राष्ट्रपतिको हत्या प्रयासजस्तो गम्भीर आक्रमण पछाडि कीभको हात भएको आरोप लगाएको छ ।

रुसी समाचार एजेन्सी एवं सञ्चारमाध्यमले क्रेमलिनको भनाइ उदृत गर्दै ड्रोन आक्रमण भएका बेला पुटिन त्यस भवनमा नभएको र भौतिक क्षतिबाट पनि जोगिएको उल्लेख गरेका छन् ।

‘क्रेमलिनले यी कार्यहरूलाई नियोजित आतंकवादी कार्यको रूपमा मूल्यांकन गरेको छ र विजय दिवस, मे ९ को परेडको पूर्वसन्ध्यामा राष्ट्रपतिको हत्या प्रयासको रूपमा मूल्यांकन गरेको छ,’ रुसी सरकारी समाचार संस्था आरआईएले लेखेको छ ।

घटनापछि पुटिनले आफ्नो कार्यतालिका भने परिवर्तन गरेका छ्रैनन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार उनले काम गरिरहेका छन् ।

रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले भोलोदिमिर जेलेन्स्कीको पतनका लागि आह्वान गरेका छन् । “हामी कीभ आतंकवादी शासनलाई रोक्न र नष्ट गर्न सक्षम हतियारहरू प्रयोगको गर्न माग गर्नेछौं,” पुटिनका निकट सहयोगी मेदवेदेवले भने । रुसका प्रधानमन्त्रीसमेत रहेका मेदवेदेवले विश्वयुद्धको खतरा बढेको चेतावनीसमेत दिएका छन् ।

“विश्व बिराम परेको छ र सम्भवतः नयाँ विश्वयुद्धको संघारमा छ,” रुसको सुरक्षा परिषद्का उपसभापतिसमेत रहेका मेदवेदेवले भनेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यो आरोप अस्वीकार गर्दै आफ्नो देशले मस्को वा राष्ट्रपतिमाथि आक्रमण नगरेको बताएका छन् ।

“हामी पुटिन वा मस्कोमा आक्रमण गर्दैनौं । हामी हाम्रो भूमिमा लड्छौं,” जेलेन्स्कीले फिनल्यान्डको हेलसिंकीमा पत्रकार सम्मेलनमा भने, “हामी हाम्रो गाउँ र सहरको रक्षा गर्छौं ।”

रुसी राष्ट्रपतिको कार्यालयले आफ्नो देशको डिफेन्सले रातारात दुई ड्रोन खसालेको बताएको छ ।