एसीसी प्रिमियर कपको फाइनल आज, नेपाल र यूएई भिड्दै

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा आज घरेलु टोली नेपाल र यूएई भिड्दैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।

आजको खेल विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ए को विजेताका रुपमा फाइनलमा पुगेको हो। उता यूएईले सेमिफाइनलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। उता यूएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा हुनेछ। तर आज पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आजको फाइनल प्रतिस्पर्धामा वर्षाले अवरोध गरेमा बाँकी खेल भोलि (मंगलबार) हुनेछ। मंगलबार पनि पानी परेर खेलको नतिजा आउन नसकेमा खेल सुपर ओभरमा जानेछ।

सुपर ओभर टाई भएमा अर्को सुपर ओभर हुनेछ। सुपर ओभर हुन नसक्ने अवस्था भए नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयताका आधारमा एसिया कपमा पुग्नेछ। ओडीआई वरीयतामा नेपाल १४ औँ र यूएई १९ औँ स्थानमा छन्।